महामारीको समयमा खोपमा पनि भ्रष्टाचार हुनु अक्षम्य अपराध हो : कांग्रेस सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीको समयमा औषधि (खोप) मा पनि भ्रष्टाचार हुनु अक्षम्य अपराध भएको बताएका छन्।
शुक्रबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै देउवाले जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयम् भ्रष्टाचारमा संलग्न हुनु निन्दनीय भएको बताएका हुन्।
‘जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो’, देउवाले भनेका छन्, ‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जीवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ।’
भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग उनले माग गरेका छन्।
देउवाले नेपाली जनताको जीवन रक्षा गर्नका लागि देशभर आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्नसमेत माग गरेका छन्।
.jpg)







