बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

सदनमा ‘बेपत्ता’ सांसद भेट्न अस्पताल पुगे मुख्यमन्त्री गुरुङ



बुधबार १५ , बैशाख २०७८

प्रदेश सभाको विशेष अधिवेशन दिनभर ‘बेपत्ता’ भएका राष्ट्रिय जनमोर्चाका सांसद भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन्। सदनमा अनुपस्थित भएका शाही कोरोना संक्रमण भएको भन्दै पोखराकै चरक मेमोरियल अस्पताल भर्ना भएर आइसियूमा बसेका छन्। मुख्यमन्त्री गुरुङ अस्पताल पुगेर सांसद शाहीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालका डाक्टरसँग जानकारी दिएको प्रेस संयोजक विक्रम न्यौपानेले बताए। मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित सांसद शाहीको स्वास्थ्यलाभको कामना गरेका थिए। मुख्यमन्त्रीसँगै प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, एमाले सांसद इन्द्रधारा विष्ट लगायत गएका थिए। अस्पताल पुगे पनि मुख्यमन्त्रीको टोलीले आइसियूमा भएका कारण शाहीलाई भेट्न भने नपाएको जनाएको छ। जनमोर्चा सांसदको मंगलबार लिएको स्वाब परिक्षण गर्दा बुधबार बिहान रिपोर्ट नेगेटिभ आएको थियो। मंगलबार नै शाहीले पोखराकै अर्को लाइफकेयर डाइग्नोस्टिक सेन्टरमा दिएको स्वाबको परिक्षणको बुधबार बिहान आएको अर्को रिपोर्ट भने पोजेटिभ छ। एमालेले सबै सांसदको स्वाब परीक्षण गर्नुपर्ने भन्दै मंगलबार सदन अवरुद्ध गरेको थियो। कोरोना परीक्षण गर्दा एमालेका सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङको रिपोर्ट पोजेटिभ आएको थियो। जनमोर्चाका सांसद शाहीले एकै दिन कोरोना परिक्ण गर्न दिएको स्वाबको रिपोर्ट छुट्टाछुट्टै प्रयोगशालाबाट फरक-फरक रिपोर्ट आउनु आश्चर्यका रुपमा हेरिएको छ।

Featured News

Advertisement