शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

भानुभक्त प्राणी उद्यानमा १२४ प्रजातिका चरा फेला



बिहीबार ९ , बैशाख २०७८

तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन् । यही वैशाख १ देखि ७ गतेसम्म गरिएको अनुगमनका क्रममा ती प्रजातिका चरा भेटिएका हुन् । गर्मीयामको चरा अनुगमनबाट फेला परेका चराका ती प्रजातिको अभिलेख राख्ने काम सम्पन्न भएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिनुभयो । तीमध्ये ३६ प्रजातिका चरा गत वर्ष सम्पन्न भएको हिउँदे अनुगमनका क्रममा फेला नपरेका चरासमेत छन् । उहाँका अनुसार गत वर्ष हिउँदे अनुगमनका क्रममा १४१ प्रजातिका चरा अभिलेख गरिएको थियो । अद्यावद्यिक अभिलेखानुसार प्राणी उद्यान क्षेत्रभित्र १७६ प्रजातिका चरा रहेको बताइएको छ । “सानो क्षेत्रफल भएको उद्यानमा १७६ प्रजातिका चरा भेटिनु वन्यजन्तु संरक्षणको दृष्टिकोणले सुखद् र उत्साहप्रद हो”, उहाँले भन्नुभयो । चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा अनुगमनका क्रममा प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घको सङ्कटापन्न सूचीमा रहेको विश्वमा दुर्लभ मानिएको गोमायु महाचील र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित रेकर्ड गरिएको छ । साथै नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्न रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको छ । उद्यानका सबै क्षेत्रलाई समेटिने गरी लाइन ट्रान्जेक्ट बनाई बिहान र बेलुका पैदल हिँडी अनुगमन गरिएको थियो । चरा प्रत्यक्ष देखेर वा स्वर सुनेका आधारमा पहिचान गरी ‘मेकानेन’ विधिबाट अभिलेख राखिएको थियो । उक्त कार्यका लागि बाइनाकुलर, क्यामेरा र चरा पहिचान पुस्तकको प्रयोग गरिएको थियो । चरा अनुगमनको यही वैशाख १ गते २६औँ वन्यजन्तु सप्ताहको अवसर पारी शुभारम्भ गरिएको थियो । नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायत उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ । सो उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन क्षेत्र समावेश गरिएको छ । (तस्वीर छ) –––

Featured News

Advertisement