शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

रुकुम हत्याकाण्डका ५ अभियुक्तलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतको आदेश



सोमबार ६ , बैशाख २०७८

काठमाडौं / अन्तरजातीय प्रेम गरेको भन्दै रुकुममा प्रेमी नवराज विकसहित ६ जनाको हत्या गरिएको प्रकरणका ५ अभियुक्तलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

जिल्ला अदालतको फैसलाअनुसार पुर्पक्षका लागि कारागार चलान भएका भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनलाई सोमबार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्य अभियुक्तको हकमा भने यसअघिकै आदेश सदर गरेको छ। जिल्ला अदालतविरुद्ध उच्च अदालत (सुर्खेत) गए पनि उल्लिखित ५ जनाको हकमा उच्च अदालत अनिर्णित बनेको थियो। किशोरीसहित दुई नाबालकलाई भने यसअघि नै उच्च अदालतको निर्णयअनुसार अभिभावकको जिम्मामा छाडिएको छ।

गत असोज २५ गते उच्च अदालतको संयुक्त इजलासमा तत्कालीन मुख्य न्यायाधीश कुमार चुडालले उनीहरूलाई साधारण तारेखमा छाड्नुपर्ने राय पेस गरेका थिए भने न्यायाधीश सुदर्शनदेव भट्टले भने जिल्ला अदालत रुकुम पश्चिमले गरेको आदेश सदर गर्नुपर्ने लिखित राय प्रस्तुत गरेका थिए।

घटनाका २३ अभियुक्तलाई रुकुम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। दुई जनालाई भने सुधार गृहमा र तीन जनालाई साधारण तारेखमा छाडेको थियो। एक जनासँग एक लाख रुपैयाँ धरौटी मागेको थियो।

कथित उच्च जातकी प्रेमिका लिन भनेर आफ्ना साथीसहित गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगेका जाजरकोटको भेरी नगरपालिका–४ का प्रेमी नवराज विकसहित गणेश बुढामगर, सञ्जीव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम चौरजहारी–१ का टीकाराम नेपालीको हत्या गरिएको थियो। सोतीका गाउँलेले कुटेर मारी उनीहरूलाई भेरी नदीमा फ्याँकेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

Featured News

Advertisement