शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

पत्रकार मिश्रको निधनले स्तब्ध



शुक्रबार ३ , बैशाख २०७८

टेकु अस्पतालको भेन्टिलेटरमा निकै सकस काट्दै कोरोनासँग लडिरहेको छु, अब भने बाँच्ने आशा पलाएको छ, सत्कर्ममा लागौँ, राधे राधे ।’ विर्तामोड नगरपालिका–८ झापा घर भई विगत १५ वर्षभन्दा बढी भक्तपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका द्वन्द्वपीडित पत्रकार ४९ वर्षीय पत्रकार कमल मिश्र माथिको वाक्य लेखेको एक हप्ता पनि नबित्दै अन्ततः कोरोनासँग हार्दै सधँैका लागि अस्ताउनुभयो । उहाँको वैशाख १ गते राति कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो । झापाबाट कम्युनिष्ट आन्दोलनसँगै पत्रकारिता शुरु गरेका पत्रकार मिश्रको निधनले भक्तपुरका क्रियाशील पत्रकारलाई स्तब्ध बनाएको छ । मानव अधिकारवादी संस्था इन्सेक अनलाइनमा समेत लामो समय पत्रकारिता गरेका मिश्रले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सम्बोधन, दृष्टि, जनधारणा, जनादेश साप्ताहिक, नयाँ सडक दैनिक, जनदिशा दैनिक, इन्सेक अनलाइन हुँदै नेपाल समाचार पत्र र महानगर दैनिकमा संवाददाता रहेर पत्रकारिताको तीन दशक यात्रा पूरा गर्नुभएको थियो । पत्रकारिता क्षेत्रको चर्चित ‘भूषण जोशी पत्रकारिता पुरस्कार’ पाएका उहाँले आफ्नै सम्पादनमा गणतन्त्र साप्ताहिकसमेत प्रकाशित गर्नुभएको थियो । तत्कालीन माओवादी जनयुद्धकालको पहिलो सङ्कटकालमा माओवादीको आरोपमा ज्यान जोखिममा परेपछि भागेर भारतस्थित ससुराली पुगेका मिश्रलाई माओवादीको आरोपमा भारतीय प्रहरीले पक्राउ गरी निकै यातना दिएको उहाँले आफ्नै लेखमा चर्चा गर्नुभएको छ । भारतमा एउटा आँखा गुमाउनु परेको र शरीर अङ्गभङ्ग भएपछि झापामा भएको आफ्नो सबै सम्पत्ति बिक्री गरी उपचार गराएका मिश्रले दोस्रो सङ्कटकालमा पनि झापाबाट ज्यान जोगाउन भागेर काठमाडौँ आएर नेपाल पत्रकार महासङ्घको कार्यालयमा केही दिन आश्रय लिनुभएको उहाँले बताउनु भएको थियो । विसं २०६२÷६३ को जनआन्दोलनपछि भने पत्रकार मिश्र खुल्ला भएर हिँडेको र भक्तपुरस्थित दुवाकोटमा भाडाको कोठामा श्रीमती र बालिका तीन छोरीका साथ बस्दै भक्तपुरबाट पत्रकारितामा निरन्तरता दिँदै आउनुभएको थियो । स्वास्थ्य परीक्षणका क्रममा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गत चैत १३ गतेदेखि शुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल टेकुमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहँदा पनि फोन गर्दै आफ्नो अवस्थाका बारेमा जानकारी गराउँदै आउनुभएको थियो ।

Featured News

Advertisement