गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुईको मृत्यु
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुईको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक÷एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उहाँमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मोटरसाइकलबाट खसेर मृत्यु पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् । यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । डुम्रेबाट विमलनगरतर्फ जाँदै गरेको ना ५ त २७३० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प १८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बिदुर गाउँपालिका–१२ बस्ने २७ वर्षीय नवराज पौडेल घाइते भएका हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
.jpg)







