नोबेल विरुद्ध आक्रोशित पीडितमाथि प्रहरीद्वारा लाठि चार्ज, तीनजना घाइते
चिकित्सकको लापर्वाहीका कारण नवजात शिशुको मृत्यु भएको दावी गर्दै नोबेल मेडिकल कलेज विराटनगर विरुद्ध आक्रोशित आफन्त तोडफोडमा उत्रिएपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठ्ठी चार्ज गरेको छ । दुईदिन अगाडी भ्याकुमले तानेर निकालिएको बच्चाको टाउको, छाति र शरिरमा चोट देखिएपछि आफन्तहरु आक्रोशित हुँदै आएका छन् ।
अस्पतालमा तीन दिन अगाडी भर्ना गरिएकी इटहरी–१ आँपगाछी निवासी सरिता प्रधानबाट शिशुलाई जन्मदिने क्रममा मृत्यु भएको थियो । आमा र बच्चाको सामान्य अवस्था रहेकै बखत भर्ना गरिएपनि प्रसुती गराउने क्रममा भ्याकुमले तान्ने क्रममा शिशुको मृत्यु भएको दावी आफन्तको छ ।
आमाको ईच्छा विपरित जर्बरजस्ती पटक–पटक भ्याकुमको प्रयोग गरिएका कारण शिशुको मृत्यु भएको दावी उनीहरुको छ । शिशु निकाल्दा टाउकोमा प्वाल, छातीमा रगत जमेको टाटो र शरिरभरी निलडाम देखिएको थियो ।त्यहि विषयलाई लिएर नोबेलमा आफन्त तथा स्थानीयहरु तीनवटा बस रिजर्ब गरेर विराटनगर आएका हुन् ।
उनीहरुले नोबेल अस्पताल अगाडी डाक्टर मधु साहलाई कारवाही गर्नुपर्ने माग गर्दै मुख्य प्रवेशद्वारबाट आउजाउ बन्द गराउन खोजेका थिए । त्यस क्रममा आन्दोलनमा सहभागी हुन आएकी मिना श्रेष्ठलाई नोबेलका सेक्युरिटी गार्डले हातपात गरेपछि उत्पन्न विवादसँगै आक्रोशित पीडितले नोबेलमा तोडफोड गरेका हुन् । प्रहरीले भीडलाई तितरबितर बनाउने क्रममा पीडित पक्षको समर्थनमा आएका होमराज देउजा र शिव नेपालीको हातमा चोट लागेको छ । अर्का सन्दिप चौधरीलाई गहिरो चोट लागेको छ । उनको दश टाँका लगाउनु परेको दिलकुमार राईले जानकारी दिएका छन् ।
Via : Our Biratnagar








