लिम्बू समुदायले बनाउने चौतारा ‘अक्षयकोष’मा परिवर्तन
विगतमा लिम्बू समुदायले आफ्ना आफन्तको स्मृतिमा पाटी, पौवा, चौतारा, धर्मशाला बनाउने प्रचलन स्थापित भएको थियो । पछिल्लो समय त्यस्ता धर्मशाला प्रयोगविहीन बन्दै गएपछि अक्षयकोष स्थापना गर्न थालिएको छ । पाटी, पौवा एवं चौतारामा लाग्ने खर्च अक्षयकोष स्थापनामा प्रयोग हुन थालेको सो समुदायले जनाएको छ । आफ्ना आफन्तको देहान्तपछि अन्त्यष्टि गर्ने दिनमा मृतात्माकोे शान्तिका लागि चौतारा, पाटीपौवा बनाउन कूल देवातासँग माग गर्र्ने र पछि स्मृतिका लागि चौतारा बनाउने प्रचलन लिम्बू समुदायमा छ । पाटी, पौवा, चौतारा र धर्मशाला बनाउनुको मूल उद्देश्य मृतात्माले शान्ति पाउन् भन्ने हो । थकित भएर आएका भरिया वा बटुवाले चौतारामा आराम गर्न पायो भने धर्म हुन्छ भत्रे विश्वास लिम्बू समुदायमा छ । सङ्घीयता आइसकेपछि स्थानीय तहले प्रत्येक गाउँमा सडक सञ्जालका कारण पाटी, पौवा वा चौताराको महत्व कम हुँदै गएको । स्थानीय तहले बजेटको ठूलो हिस्सा सडकमा खर्च गरिरहेको पाइएको छ । विगतमा निर्माण भएका पाटीपौवा वा चौताराको उचित स्याहार नहुँदा भत्कन थालेका छन् भने पाटीपौवामा विश्राम लिने वा आराम गर्ने मानिसको सङ्ख्या पनि घट्न थालेका छन् । चौताराका वरपर र पीपलको बोट रोप्ने र यसबाट चौतारामा बस्ने मानिसले शीतलता प्राप्त गर्नाका साथै चराचुरुङ्गीलाई पनि आश्रयस्थल बनेको छ । ढुङ्गामा कोरिएका शिलालेखहरू हराउँदै गएका छन् । विगतका प्रचनलबाट समुदायलाई लाभ हुन छाडेपछि प्ता सिरिजङ्घा—३ का दुर्गामाया चंसुले आफ्नो स्व पतिको स्मृतिमा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–४ सिकैचा, कुन्जारीस्थित सरस्वती माविमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । “तिलोक सिं चंसु लिम्बू स्मृति छात्रवृत्ति’ नामक अक्षयकोषमा रु दुई लाख राशिको कोष स्थापना गरिएको छोरी चित्राकुमारी चंसुले बताउनुभयो । उहाँले भन्नुभयो, “जेहेन्दार एक छात्र, एक छात्रा र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट एक गरी तीन जनालाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरी रकम हाम्रो परिवारका तर्फबाट विद्यालयलाई हस्तान्तरण गरिएको छ ।” जेहेन्दार र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीले ‘तिलोक सिं चंसु लिम्बू स्मृति’ छात्रवृत्ति प्रदान गर्ने चंसुले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यही गाउँमा जन्म्यौँ । यही उच्च शिक्षा हासिल ग¥यौँ । त्यसैले अहिले हामी यो गाउँमा नभए पनि हामीले क, ख सिकेको विद्यालयको माया छ । विद्यालयमा अध्यनरत विद्यार्थीको माया छ । त्यसैले बुबाको नाममा छात्रावृत्ति कोष स्थापनमा गरेको हो ।” अक्षयकोष प्रत्येक वर्ष थप गर्दै जाने चंसुले बताउनुभयो । सोही विद्यालय सरस्वती माविका प्रधानाध्यपक लक्ष्मी अधिकारीले गत हप्ता आफ्नो जन्म दिने स्व बुबा कृष्णप्रसाद र आमा विष्णुमाया अधिकारीको स्मृतिमा ‘कृष्णप्रसाद विष्णुमाया अधिकारी छात्रावृत्ति’का लागि अक्षयकोष स्थापना गर्नुभएको छ । कक्षा ६ देखि १२ कक्षा सम्मका सर्वोत्कृष्ट एक छात्रा र एक छात्र गरी दुईजना विद्यार्थीलाई प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा रु ५० हजारको अक्षयकोष स्थापना गरेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस असार मसान्त सम्ममा रु एक लाख पु¥याउँछौँ ।” दाजुभाइ दिदीबहिनी सबै मिलेर आफ्नो जन्म दिने बुबा र आमाका नाममा अक्षयकोष स्थपना गरेको अधिकारीले बताउनुभयो । विसं २०७५ फागुन ७ गते रामबहादुर आङ्बोहाङले आफ्नो जीवनसङ्गीनी स्व कृष्णमाया फेम्बू लिम्बूको स्मृतिमा आठराई त्रिवेणी गाउँपालिका–३ चाँगेमा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ देखि ८ कक्षामा अध्ययन गर्ने आवधिक परीक्षा र आन्तरिक मूल्याङ्कन गरेर सर्वोत्कृष्ट तीन जनालाई प्रत्येक वर्ष ‘कृष्णमाया फेम्बू लिम्बू स्मृति’ छात्रवृत्ति प्रदान गर्ने समझौतापत्रमा उल्लेख गरिएको छ । विद्यालयमा अक्षयकोष स्थापनाले विद्यालयको गुणस्तरमा सुधार आउने सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाप्रमुख बुद्धिप्रसाद खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीको प्रतिस्पर्धा हुने भएकाले अब्बल विद्यार्थी उत्पादन गर्ने पहिलो आधार हुन सक्ने छ ।” ताप्लेजुङको धेरै विद्यालयमा विभिन्न व्यक्तिहरूले आफ्ना आफन्तका नाममा छात्रवृत्ति प्रदान गर्न अक्षयकोषको स्थापना गर्न क्रम बढिरहेको छ । सरस्वती माविका व्यवस्थापन समिति अध्यक्ष एवं सिरिजङ्घा गाउँपालिका–३ वडाध्यक्ष सन्तोष चाम्लिङले भन्नुभयो, “शिक्षा क्षेत्रमा लगानी गर्न भनेको समाज परिवर्तन गर्नु हो । त्यसैले विभिन्न व्यक्तिको स्मृतिका लागि छात्रवृत्ति कोषले समाज परिवर्तनमा ठूलो मद्दत पुग्नेछ ।” छात्रवृत्तिले विद्यार्थीलाई पढाइप्रति प्रोत्साहन हुने भएकाले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले बताउनुभयो । ताप्लेजुङमा सामुदायिक विद्यालय ३३१ वटामा ३३ हजार ९७५ जना विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा समन्वय एकाइको तथ्याङ्क छ ।







