तमोरबाट अबैध रुपमा नदिजन्य सामग्री उत्खनन, गाउँपालिकाद्वारा रोक
कुमार खड्का । पाँचथर–निर्माण कम्पनीले तमोरबाट अवैध रुपमा क्रसर संचालन गरी नदिजन्य सामाग्री उत्खनन गरिरएको अवस्थामा गाउँपालिकाले उत्खनन गर्न रोक लगाएको छ । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ३ स्थित तमोर नदिको जयरामघाटबाट लामा ज्याङमिला जेभीले उत्खनन गरिरहेको अवस्थामा कुम्मायक गाउँपालिकाले रोक लगाएको हो ।
गाउँपालिकाले लामा ज्याङमिला जेभीसंग उत्खननका लागि कुनैपनि सम्झौता नगरेको र निमार्ण कम्पनीले अवैध रुपमा क्रसर राखेर उत्खनन गर्दे गरेको अवस्थामा पालिकाले रोक लगाएको कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताए । नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा क्रसर लगायत उत्खननका सामर्गी गाउँपालिकाले नियन्त्रण गरेको उपाध्यक्ष खड्काको भनाई छ ।
केहि समयअघि गाउँपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन (आईईई) तयार पारेर तमोर नदिको जयरामघाटलाई उत्खनन गर्न उपयुक्त ठानेर ठेक्का खुलाएको थियो । ठेक्का प्रक्रियामा लामा ज्याङमिला जेभीले नै ठेक्का पारेको थियो । ठेक्का पारेपछि सम्झौता गर्न गाउँपालिकामा नआएर पालिकालाई नै बिपक्षी बनाई जिल्ला अदालत पाँचथरमा मुद्दा लगाईएको थियो । मुद्दा लगाएपछि सो क्षेत्रमा नदिजन्य सामग्री उत्खनन गर्न रोक लगाईएकै अवस्थामा निर्माण कम्पनीले जयराम घाटमा क्रसर राखेर अवैध नदि जन्य सामाग्री उत्खनन गरेको हो ।
यसैबिच लामा ज्याङमिला जेभीले वान्थाक–यासोक बाटो कालोपत्रे गर्नको लागि उत्खनन गरेको जनाएको छ । सो कम्पनीले वान्थाजाक–यासोक कालोपत्रे सडक निर्माण गरिरहेको छ । लामा ज्याङमिला जेभीका प्रतिनिधि दिनेश श्रेष्ठले नदिजन्य सामग्री निकालेको स्विकार गरेका छन् । उनले भने, “अरु केहि हैन, गाउँपालिकामा केहि राजस्वको रकम तिर्न बाकीँ छ, त्यो रकम तिरेपछि हामी पुन काम अघि बढाउछौ ।”
केहि दिन अघि वान्थाक–यासोक बाटो कालोपत्रेको केहि खण्ड गुणस्तरहिन भएको भन्दै कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावती र उपाध्यक्ष महेन्द्रबहादुर खड्कासहितको अनुगमन टोलिले गुणस्तरहिन काम भएको क्षेत्र भत्काएर पुनः निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । क्रसर सम्बन्धी मापदण्डमाः क्रसर संचालन गर्दा सम्बन्धित स्थानिय तहमा दर्ता गर्नुपर्ने भनिएको छ ।
साभारः विश्व सञ्चार डटकम








