मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

स्वदेशी र विदेशी लगानीकर्तामा विभेद हुँदैन: प्रधानमन्त्री दाहाल



मंगलवार ३० , फाल्गुन २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपालको व्यापार नीति वैदेशिक लगानीमैत्री रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वैदेशिक लगानी बढाउन सरकार अग्रसर रहेको बताएका हुन् । 
मंगलबार काठमाडौंमा आयोजित नेपाल–चीन लगानी तथा व्यापार मञ्चले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालले विदेशी लगानीकर्तालाई प्रेरित, प्रवर्द्धन र सुरक्षा गरेको बताएका हुन् । प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा भने, ’नेपालले व्यापार र लगानीमैत्री नीति बनाइरहेको छ । हामीले हाम्रा नीतिहरूमा सुधार गर्दै वैदेशिक लगानीका लागि प्रोत्साहन, प्रवर्द्धन र सुरक्षा गरिरहेका छौँ ।’
प्रधानमन्त्री दाहालले नेपालको करसीमा न्यून रहेको र व्यावसायिक वातावरण राम्रो भएको बताए । उनले स्वदेशी र विदेशी लगानीकर्तामा कुनै पनि विभेद नगरिने पनि प्रतिबद्धता जनाए । उनले विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको समेत बताए । प्रधानमन्त्री दाहालले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे । उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए ।
वैदेशिक लगानीका लागि राजनीतिक स्थिरता अनिवार्य आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल त्यसतर्फ अग्रसर रहेको बताएका छन् । उनले नेपालले सबै तहको निर्वाचन भर्खर सम्पन्न गरेर नयाँ सरकार बनेको उल्लेख गर्दै लगानीकर्तालाई सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको जनाए ।
साथै उनले नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा पनि केही सुधार गर्नुपर्ने बताएका छन् । चीनसँग देखिएको व्यापार घाटा घटाउने पनि सरकारको चुनौती रहेको प्रधानमन्त्री दाहालले बताए । आर्थिक वर्ष ०७८÷७९ मा नेपालले चीनबाट २ खर्ब ३२ अर्बबराबरको सामान आयात गर्दा जम्मा ६७ करोड रुपैयाँबराबरको मात्र सामान पठाउन सकिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले अन्तरदेशीय कनेक्टिभिटी बढाउनका लागि नेचुङ–लिची, पुराङ, यारी, किमाथांका–चेन्ताङ नाकामा नेपालपट्टि भौतिक पूर्वाधार विकासमा सरकारले काम गरिरहेको बताए ।


साभारः ईकान्तिपुर

Featured News

Advertisement