ईलाका प्रहरी कार्यालय तुम्बेवालाई प्रहरी भ्यान हस्तान्तरण
पाँचथर । कोशी प्रदेश अन्तर्गत रहेको पाँचथर जिल्लाको विकट मानिएको तुम्बेवा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयलाई प्रहरी भ्यान हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले इलाका प्रहरी कार्यालयलाई सोमबार भ्यान हस्तान्तरण गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश गैरे र प्रहरी नायव उपरीक्षक हरि खतिवडाले तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्कालाई प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गैरेले भ्यानको प्रयोगबाट प्रहरीलाई घटनास्थल पुग्न, घटनाको अनुसन्धान गर्न सहज हुने बताए । गाउँपालिकामा शान्ति सुरक्षा र अमनचयनका लागि यसले सहयोग गर्ने उनको भनाई छ ।
प्रहरी नायव उपरीक्षक खतिवडाले प्रहरीलाई काम गर्नका लागि सहज बनाउनुका साथै नागरिकलाई सुरक्षा प्रदान गर्न मद्दत गर्ने बताए । विकट क्षेत्रमा सवारी साधन अभावका कारण प्रहरीलाई काम गर्न कठिनाई भएको गुनासो आएकाले भ्यान सहयोग गरेको बताए ।
गाउँपालिका अध्यक्ष बाबुराम खड्काले उक्त गाउँपालिका विकट भएकाले सवारी साधनका लागि पहल गरेको बताए । इलाका प्रहरी कार्यालयमा एउटा मोटरसाइकल मात्र रहेको र त्यो पनि पूरानो भएकाले प्रहरीलाई नागरिकको गुनासो सुन्न जानुपर्दा समय लाग्थ्यो । घटना भएको धेरै समयपछि मात्र प्रहरी पुग्नुपर्ने बाध्यता थियो । दुर्गम क्षेत्र भएकाले र बढी मानिसको आउजाउ हुने भएकाले सवारी साधनको आवश्यकता महसुस गरी प्रहरीसंग माग गरेको बताए ।
यसले गाउँपालिकाको शान्ति सुरक्षामा मद्दत गर्ने खड्काले बताए । उनले जिल्ला प्रहरी कार्यालयलाई भ्यान सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । जनताको शान्ति सुरक्षा जनप्रतिनिधिको प्रमुख दायित्व भएकाले यसका लागि पहल गरेको र गरिरहने बताए ।








