मोरङमा होलि विशेष सुरक्षा योजना, चेकपोइन्ट–गस्तीको संख्या बढाउने, सादा पोशाकका प्रहरीबाट विशेष निगरानी
रतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा यसवर्षको होलि पर्वलाई घर भित्रै सिमित राख्नका लागि प्रहरीले आग्रह गरेको छ । होलि विशेष सुरक्षा योजना अन्तर्गत सार्वजानिक क्षेत्रमा हुने भीडभाड र जमघटलाई नियन्त्रण गर्दै विशेष सावधानीपूर्वक होलि खेल्नका लागि प्रहरीले अनुरोध गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार होलिलाई मध्यनजर गर्दै प्रहरीको विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरिने छ । प्रहरीले पैदल, साइकल, मोटरसाइकल र चारपाङग्रे सवारीमार्फत गस्ती गर्नेछ, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–तत्काल आवश्यक परेको खण्डमा क्विक रेस्पोन्स टोलि परिचालन गर्ने गरि तयारी गरेको छ ।
प्रहरीले रिजर्ब फोर्सको रुपमा समेत प्रहरीलाई ठाउँठाउँमा तयारी अवस्थामा राख्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा नियमित प्रहरी बाहेक एकसय जना प्रहरी थप गरेर सुरक्षा सतर्कता बढाइने भएको छ ।
सार्वजानिकस्थलमा कुनै किसिमको भीडभाड भएको खण्डमा त्यसलाई निस्तेज गरिने छ । घरभित्रै परिवारसँग बसेर होलि खेल्नका लागि हामीले अनुरोध गरिरहेका छौं, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–मादक पदार्थ तथा लागु औषध खाएर हिडेको पाइएमा प्रचलित कानुन अनुसारको कारवाही गर्नेछौं ।
प्रहरीले अपरिचित महिला तथा बालबालिकामाथि अबिर लगाउने र लोला हान्ने व्यवहारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने दावी गरेको छ । सार्वजानिकस्थलमा अभद्र र असभ्य व्यवहार देखाउनेहरुलाई नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आमसर्वसाधारणलाई जानकारी दिनका लागि प्रचार–प्रसारको कामलाई अगाडी बढाईसकेको छ । कुनै कारणले कसैले पनि सार्वजानिक गरिएको सूचना बाहिर गएर होलि खेलेको अवस्थामा सोझै कारवाहीको भागिदार बन्नेछ ।








