बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

लमजुङमा ९१ वर्षीया हाँगी कामीको जलेर मृत्यु



मंगलवार १६ , फाल्गुन २०७९

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ८, खिन्चोक बेंसीको टहरामा बस्दै आउनुभएका ९१ वर्षीया हाँगी कामीको जलेर मृत्यु भएको छ ।
सोमबार राती सुतिरहेको समयमा टहरामा आगलागी भएपछि उनको टहरासंगै जलेरै मृत्यु भएको स्थानीयले बताएका छन् । 
स्थानीयका अनुसार सोमबार पानी परेपछि जाडो बढेको र आगो फुकेर खाटमा सुतेकोमा उहाँ निदाएको समयमा आगलागी भएको हुन सक्ने स्थानीयले बताएका छन् । अगेनाबाट खाटमुनीको दाउरामा आगो सल्किएपछि टहरामा आगो लागेको अनुमान गरिएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । 
स्थानीयका अनुसार आफ्नो सन्तान केहीको मृत्यु र केही साथमा नरहेकोमा पछि उनी मकानसिंह कामीको दोस्रो श्रीमती हुन आएकी थिइन् । दोस्रो श्रीमानबाट सन्तान नभएकोमा उनी एक्लै बस्दै आएकी थिइन् । जेठीपट्टीका सन्तान छिन्नभिन्न भएको र श्रीमानको पनि मृत्यु भएपछि उनी एक्लै बस्दै आएकी हुन् । 
उनको रेखदेख गर्ने एकजना रहेको र जेठीपट्टीका नातिनातिना गाउँमा रहे पनि हाँगी एक्लै बस्दै आएकी हुन् । उनी अरुले पकाएको नखने र चोखोनितो गरेरमात्रै खाने गर्दै गर्थे । टहरामा आगो लागेपछि छिमेकीले राती अबेर आगो निभाए पनि उनलाई भने सकुशल उद्दार गर्न नसकेको स्थानीयले बताएका छन् । आगलागीबाट लत्तकपडा, भाँडाकुँडा, चामल, मकैलगायत खाद्यान्न सवै जलेको इलाका प्रहरी भोटेओडारका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले बताए । आगलागीबाट एउटा पाठा र एउटा भेडा पनि घाइते भएका छन् । आगलागी भइरहेको समयमा स्थानीयले भैंसी, पाठा र भेडाको दाम्लो खोलिदिएका थिए ।
प्रहरीका अनुसार सोमबार राती ९ बजेतिर आगलागी भएको थियो । जस्ता र काठले बनेको ठहरा सवै जलेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । आगलागीबाट मानिसको केही टुक्रामात्रै बाँकी रहेको र त्यसलाई पोष्टमार्टमको लागि पठाइने घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक तिमिल्सनाले बताए । 
चिसो बढेपछि आगो ताप्न आगो फुकेकोमा हावा चल्दा खाटमुनी राखेका दाउरामा आगो सल्केको र खाटमा सुतीरहेकी हाँगी कामी जलेको देखिएको उनले बताए । आगलागीपछि स्थानीय र चिती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आगो निभाए पनि मानिसलाई भने बचाउन नसकिएको उनले बताए । 

Featured News

Advertisement