इलाममा आमाले बेचिन् तीन छोराछोरी, दुई जना फर्किए, एक बालक बेपत्ता
इलाम । माई नगरपालिका–८, कलकत्तेको एउटा परिवार ७ वर्षदेखि बेपत्ता बालक सदस्यको खोजीमा छ। एकैपटक बेपत्ता भएका परिवारका ४ जनामध्ये १ बालक र १ बालिका जसोतसो घर आइपुगेका छन्। १ बालकको अझै अत्तोपत्तो छैन। र, बेपत्ता अर्की महिलालाई चाहिँ परिवारजनले खोज्न चाहेका छैनन्।पति विदेशमा रहेको मौका छोपेर २०७२ वैशाख २८ मा यहाँकी मनमाया राईले आफ्ना ३ छोरा–छोरीसहित घर छाडिन्। १० महिनाअघि विदेश गएका पति यामबहादुर राईले पठाएको ५८ हजार रुपैयाँ समेत लिएर बालबच्चासहित बेपत्ता मनमायाले त्यतिबेला जेठो छोरा १० वर्षे विमल, अर्काे छोरा ६ वर्षे निर्मल र डेढ वर्षकी छोरी स्वस्तिकालाई आफूसँगै बेपत्ता बनाइन्। मनमाया कहाँ छिन् भन्नेबारे परिवारलाई अहिलेसम्म कुनै अत्तोपत्तो छैन। तर, उनीसँगै बेपत्ता पारिएकामध्ये विमल र स्वस्तिका घर आइपुगेका छन्। निर्मलको भने अझै खोजखबर छैन।८७ वर्षे बर्दमान राई नाति बेपत्ता निर्मलको बाटो हेरिरहेका छन्। ‘बुहारीले सबै झिटिमिटीमात्र लगिनन्, कलकलाउँदा ३ नानीहरूसमेत बेपत्ता बनाएकाले ज्यादै दुःख लागेको थियो,’ उनले भने, ‘तर, भगवानले २ नानीहरू त घर ल्याइदिए, अर्काे एउटा कहाँ छ, के गर्दैछ भन्ने खबर छैन। पक्कै त्यो नाति पनि एक दिन घर आइपुग्छ भनेर बाटो हेरिरहेको छु।’ बुहारी मनमायाले चाहिँ अर्कैसँग बिहे गरेको भन्ने सुनेकाले उसको खोजखबर अब नचाहिएको वृद्ध बर्दमानले बताए।








