बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

सोलुमा ५ प्रतिशत उम्मेदवारले मात्रै बुझाए चुनावी खर्च



आईतवार १२ , असार २०७९

सोलुखुम्बुका ५ प्रतिशत निर्वाचित जनप्रतिनिधि तथा उम्मेद्वारहरुले मात्रै निर्वाचन खर्च पेश गरेका छन् ।गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका ५.७ प्रतिशत अर्थात ४७ जना उम्मेद्वार तथा निर्वाचितहरुले मात्रै निर्वाचन खर्च विबरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष बुद्धि किरण राई र उपाध्यक्ष गौरव राईसहित २९ जनाले खर्च विवरण पेश गरेको कार्यालयका सुचना अधिकारी नेत्र प्रसाद घिमिरेले जानकारी दिए ।यस्तै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र उपमेयर गान्धी माया तामाङसहित ८ जना, नेचासल्यान गाउँपालिका अध्यक्षका प्रत्यासीहरु डुफकुमार बास्तोला र विष्णु प्रसाद बास्तोला र महाकुलुङ गाउँपालिका अध्यक्षका उम्मेद्वार भक्त राई र उपाध्यक्षका उम्मेद्वार शुभधनी राईसहित जना ८ जनाले खर्च विवरण पेश गरेको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम मत परिणाम घोषणा भएको ३० दिन भित्र विजयी तथा पराजित सबै उम्मेद्वारहरुले अनिवार्य रुपमा निर्वाचन खर्च पेश गर्नुपर्ने प्रावधान रहेको छ । तोकेको समय भित्र खर्च विवरण पेश नगरेका उम्मेद्वारहरुकोे नाम कारबाहीका लागि सिफारिस गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुलाई पत्राचार गरेको छ ।गत बैशाखमा सम्पन्न निर्वाचनमा सोलुखुम्बुमा ८०७ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा सोलुदुधकुण्ड नगरपालिकामा १८९, थुलुङ दुधकोशी गाउँपालिकामा १४४, नेचासल्यानमा ९३, सोताङमा ८०, महाकुलुङमा ८०, माप्यदुधकोशीमा ८५, खुम्बु पासाङ ल्हामुमा ६२ र लिखुपिकेमा ८५ जना उम्मेद्वारहरु चुनावी मैदानमा रहेका थिए ।

Featured News

Advertisement