महानगरमा तीन दिनभित्र ‘ब्रुमर’ सञ्चालन गर्छौँः बालेन शाह
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्। प्रमुख शाहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हन्। चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन। उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए।नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख शाहले बताए। विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताए।नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख शाहले बताए। विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताए।बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख शाहले महानगर आफैभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए। समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उनले बताए। साहले भने, ‘साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो। यो सबैसँगै हुनुपर्छ।’उपप्रमुख सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताइन्। साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ छ। बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ। बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ।बैठकमा प्रमुख शाहले पेस गरेको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ। सुशासन समितिमा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा नं १० का अध्यक्ष रामकुमार केसी र पूर्वाधार समितिमा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल रहेका छन्।








