शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग



बुधबार १८ , जेष्ठ २०७९

काठमाडौँ — प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको विषयमा सरकार परामर्श गर्दा मंसिर २२ सम्म रहेको जानकारी गराउने तयारी भएको बताए ।‘संविधानमा ५ वर्ष भनेर लेखेको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचित भएको मितिदेखि भनेको छ । त्यो भनेको व्यक्ति निर्वाचित भएपछि प्रमाणपत्र पाएको मिति हो,’ थपलियाले भने, ‘पहिलो सांसद निर्वाचित भएको २०७४ मंसिर २२ गते हो । निर्वाचित भएको मितिदेखि भनेपछि मंसिर २२ लाई आधार मान्नु पर्छ । यही विषयलाई राखेर केही समयपछि आयोगले सरकारलाई परामर्श दिन्छ ।’ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव २०७४ मंसिर ११ र मंसिर २१ गते दुई चरणमा भएको थियो । हिमाली र उच्च पहाडी क्षेत्रका जिल्लाहरुमा मंसिर ११ र पहाड तथा तराईको जिल्लाहरुमा मंसिर २१ मा निर्वाचन भएको थियो । वैशाख ३० मा स्थानीय तह चुनावपछि प्रमुख राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभा चुनावको विषयमा छलफल थालेका छन् । प्रतिनिधसभा तथा प्रदेशसभाको कार्यकाल सुरुवातको विषयमा स्पष्ट नहुँदा विभिन्न क्षेत्रबाट फरक-फरक धारणा आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा समेत कात्तिकमा प्रदेश तथा संघीय प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव गरेका थिए ।सत्ता गठबन्धनको दलमात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि मंसिर अघि नै चुनाव गराउने विषयमा सकारात्मक देखिएको छ ।राष्ट्रिय सभाको कार्यकाल भने पहिलो बैठकलाई आधार मानेर गरिएकाले फागुन २१ देखि नयाँ कार्यकाल सुरु हुने गरेको छ । राष्ट्रिय सभाको पहिलो बैठक २०७४ फागुन २१ मा बसेको थियो ।

Featured News

Advertisement