मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा यादवको नाम सिफारिस
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा नेपाली काँग्रेसले गठबन्धन गर्न अनिच्छुक देखाउँदै उम्मेदवारी घोषणा गर्ने भएपछि नेकपा माओवादी केन्द्रले पनि एक उम्मेदवारको नाम जिल्ला पार्टीलाई सिफारिस गरेको छ ।
माओवादीको मुखियापट्टी मुसहरनीया गाउँपालिका कार्य समितिले मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारको रूपमा अघि सार्दै धर्मेन्द्र यादवको एकल नाम सिफारिस गरेको हो । शनिबार माओवादीको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बैठकबाट वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीको तर्फबाट यादवलाई गाउँपालिकाको अध्यक्ष पदको लागि उम्मेदवार बनाउने सर्वसम्मत रूपमा निर्णय गरेको जनाएको छ । पालिका कमिटीको बैठकले यादवलाई अध्यक्षको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्रको मुखियापट्टी मुसहरनिया गाउँपालिका कमिटीका अध्यक्ष महेश यादवले जानकारी दिए ।








