बुटवल को तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु
बुटवल /रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ ।
बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए । माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घेराउ गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
विष सेवन गरी आत्महत्या गरेको सूचना प्रहरीले राति पाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट टोली खटिएको थियो । ‘किटनाशक विष सेवन गरेको सूचना पाएपछि प्रहरी घटनास्थल गएको थियो, यस विषयमा अनुसन्धान जारी छ, माइती पक्षले हत्या भएको भनिरहनुभएको छ,’ प्रहरी नायब उपरीक्षक पौडेलले भने ।
अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन प्रदर्शन भइरहेको छ । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएका छन् । सो जाहेरी पनि दर्ता भइसकेको पौडेलले जानकारी दिए । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।








