जहाज र स्थलमार्गको खर्च बराबर
सुर्खेत / कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान, आउनका लागि स्थल मार्ग र हवाई मार्गबाट खर्च बराबर लागेपछि यात्रु मर्कामा परेका छन् । लुम्बिनी प्रदेशको नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थल जानका लागि ९ हजार लाग्ने गर्दछ । फर्कंदा ५ हजार भाडा कायम गरिएको छ । जान र आउन मात्र हवाई मार्गबाट १४ हजार खर्च हुने गरेको यात्रुहरू बताउँछन् । त्यही पनि भनेको समयमा टिकट नपाउने समस्या रहेको छ । करिब १७ मिनेटको उडान रहने गर्छ ।स्थलमार्गबाट डोल्पा जानका लागि पनि योभन्दा बढी खर्च गनुपर्ने बाध्यता रहेको सर्वसाधारणहरू बताउँछन् । सुर्खेतबाट जाजरकोट ८ सय, जाजरकोटबाट तल्लु सम्मा ७ सय, अनाहबाट खदाङ १ हजार, खदाङबाट त्रिपुरोकाट ५०० र सुपानीबाट दुनै ४ सय भाडा तिनुपर्ने बाध्यता रहेको छ । खाना खर्च, बाटोमा सामग्री नदी पार गराउँदा छुट्टै शुल्क लाग्ने भएपछि जहाजमा उडार गरेझैँ खर्च लाग्ने डोल्पा त्रिपुरासुन्दरी–३ का रामबहादुर धरालाले बताए । तोकिएको समयमा भेरी करिडोर भित्र पुल निर्माण नहुँदा सधैँ सर्वसाधारणले सास्ती भोग्नु परेको उनले बताए ।
भेरी करिडोर भित्र १३ वटा पुल निर्माण कार्य जारी रहे पनि असार मसान्त भित्र निर्माण कार्य सम्पन्न हुने कुरामा शंका रहेको यात्रु बताउँछन् । निजी प्रदायक कम्पनीका जहाजले मात्र डोल्पामा उडान भर्दा हवाई भाडासमेत चर्को रहेको छ । उसो त कर्णालीको हुम्ला र मुगुमा समेत चर्को भाडा रहेको छ ।








