कोइराला समूहको निष्कर्षः देउवाले चाहँदैमा चुनावी गठबन्धन हुँदैन
काठमाडौँ– सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ।बुधबार काठमाडौँमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेर मात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको हो।पार्टीको विधानअनुसार चार तहको समिति रहको भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिइनु पर्ने निष्कर्ष निकालेको हो। सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए।पार्टीको विधानअनुसार महानगरको मेयर र उपमेयरबाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने उक्त समूहको ठहर रहेको छ।स्थानीय तहमा केन्द्रबाट गठबन्धन गरेर जान सकिने सम्भावना नै नरहेको उक्त समूहको ठहर छ।








