बेपत्ता आरोहीको खोजीमा संलग्न अन्तर्राष्ट्रिय माउण्टेन गाइडको उद्धार
सोलुखुम्बु : मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेको संखुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिजन दिएर राखिएको थियो। उनलाई शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिए।
खारेबाट लुक्ला ल्याई निकोलनिकी अस्पतालमा उपचार गर्दा समेत अवस्था सामान्य नबनेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको सञ्चालक कार्कीले बताए। स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उनको भनाइ छ।
सोलु दुधकुण्ड नगरपालिका-३ का २९ वर्षीय छेतेन शेर्पाको खोजीका लागl अत्याधुनिक मेसिनसहित अन्तर्राष्ट्रिय टोली कात्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो। उद्धार टोलीले खोजी कार्य जारी राखे पनि शेर्पाको अवस्था अझै अज्ञात छ। उक्त टोलीले आइतबार अन्तिम पटक खोजी गर्ने कम्पनीले जनाएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेरापिक आरोहण सकेर फर्कने क्रममा कात्तिक २ गते शेर्पासहित दुई विदेशी र अन्य गरी १० जना पर्यटक हिउँमा फसेका थिए। उनीहरुलाई दुई दिनपछि माउण्टेन शेर्पाको टोलीले उद्धार गरी खारेमा ल्याएर हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको थियो ।
.jpg)







