‘धर्म, संस्कृतिलाई पर्यटनसँग जोड्नु पर्दछ’
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपाली धर्म, कला र संस्कृतिलाई अब पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका– २२ स्थित ज्योर्तिलिङ्ग शिवालय मन्दिरको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले प्राकृतिकरुपमा सम्पन्न एवं बहु जातजाति भएको मुलुक नेपालले धर्म र संस्कृतिलाई समेत पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गुप्तेश्वर गुफा, विश्वशान्ति स्तूपा, पुम्दीकोटको विशाल महादेवको मूर्ति क्षेत्रमा धार्मिक पर्यटकको आकर्षण बढेको जनाउँदै मन्त्री बरालले धार्मिक र ऐतिहासिक महत्व राख्ने नेपाली परम्परागत मठ, मन्दिर र शिवालयको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले विशाल महादेवको मूर्तिका कारण पुम्दी भुम्दीमा धार्मिक पर्यटनको सम्भावना ह्वात्तै बढेको जनाउँदै यसबाट स्थानीय बासिन्दाले भरपुर फाइदा लिने खालका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । करिब चार वर्षअघि स्थापना गरिएको उक्त मन्दिरमा हाल रु २१ लाख ५५ हजार लगानी भएको छ भने मन्दिरमा हाल दैनिक पूजापाठ गर्न एक जना पुजारीको समेत व्यवस्था गरिएको ज्योर्तिलिङ्ग शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा पण्डित पुण्यप्रसाद बराल, गुप्तेश्वर गुफा समितिका उपाध्यक्ष इश्वरी लम्साल, मन्दिरको अनुगमन समितिका संयोजक ऋषिराम बराल, उपाध्यक्ष खेमराज बराल, महासचिव मोहनकुमार मैनाली, कोषाध्यक्ष सुनिता पौडेल लगायतले धार्मिक क्षेत्रको महत्वमाथि प्रकाश पार्नुभएको थियो । ‘सहकारी उत्पादनसँग जोडिनु पर्दछ’ अर्थमन्त्री बरालले सहकारीले घरजग्गा र वैदेशिक रोजगारीमा जानेभन्दा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । पोखरा–१७ को जागरण कृषि सहकारी संस्थाको आज सम्पन्न भएको चौथो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले एक सहकारी एक उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “देशलाई आत्मनिर्भर बनाउन अब हरेक सहकारीले आफ्नो माटो सुहाउँदो उत्पादनतर्फ केन्द्रित हुनैपर्छ, ठूलोरुपमा कुनै उत्पादन गर्न लागेका सहकारीलाई सरकारले समेत केही न केही सहयोग गर्छ”, उहाँले भन्नुभयो । उहाँले कृषि उत्पादन सङ्कलन केन्द्रको विस्तार गर्दै उचित बजार व्यवस्थापन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो । संस्थाका अध्यक्ष अर्जुनकुमार लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका वरिष्ठ सल्लाहकार युवराज पराजुली, जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष नवराज बराल, प्रामर्श सहकारीका अध्यक्ष तोयराज गिरी, रामेश्वर सहकारीका शालिकराम भण्डारी, संस्थाका उपाध्यक्ष देविकुमारी थापा, सचिव जयराज पौडेल, सहसचिव भगवती रेग्मी बराल, युआरएलका सञ्जिव अर्याल, कान्तिपुर डेण्टलकी सीता श्रेष्ठ, शेयर सदस्य दीपेन ढकाल, रुक्माङ्गत भण्डारी लगायतले सहकारीको महत्व एवं लक्ष्यमाथि चर्चा गर्नुभएको थियो ।








