शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

पौरखी किसानलाई हेर्दैन सरकार



बुधबार २७ , आश्विन २०७८

 

बाबुबाजेको पालादेखि भेडा र खसीपालन गर्दै आएका प्रेमलाल कोइरालाको टोली यो वर्ष पनि कालीकोटबाट दसँैका लागि भेडा ल्याएर दैलेख आएको छ । उहाँहरु सधँै कर्णालीका अधिकांश जिल्ला हुँदै काठमाडौँसम्म भेडा बिक्री गर्दै आउनुभएको छ । विगत ४० वर्षदेखि किसान पेसालाई प्रमुख बनाएर भेडापालन गर्दै आउनुभएको कोइरालासहितको टोली हरेक वर्ष पाँच सय भेडा बिक्री वितरण गर्दै आउनुभएको छ । तिलागुफा नगरपालिका भारतडीमा उहाँसँगै सामूहिक रुपमा भेडापालन गर्ने धेरै किसान अहिले पनि सक्रिय छन् । सरकारले पौरखी किसान खोज्दै जानुपर्ने ठाउँमा यस्ता किसानको खोजीसमेत सरकारले नगरेको उहाँहरुको भनाइ छ । विगत तीन वर्षदेखि सामूहिक भेडापालनका लागि भेडिगोठ भेडापालन समूह निर्माण गरेका छन् । अर्गानिक कृषि उत्पादन सहकारी संस्था खोलेर काम गर्दै आएको कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले तिलागुफा नगरपालिका–९ मा भेडा, बाख्रा, भँैसी पालन गर्ने ५१ को समूह सक्रिय छ । राज्यले हामीजस्ता पौरखी किसानलाई हेरेको छैन, झोलामा समूह बनाउनेहरु र पहुँचवालाहरुले नै राज्यको सेवासुविधा लिएका छन् । भेडा नभएकाले लाखौँ अनुदान लिए तर हामिलाई सुनुवाइ भएको छैन । दसँैका लागि ल्याएका भेडाहरु पाटनको बुकी चरेका हुन्, सुनबुकी, हातजडी, बायोजडी जडीबुटी खाएका हुनाले भेडाको सुप खाएपछि पनि शरीरका विभिन्न रोगहरु निको हुने परम्परागत मान्यता अहिले पनि कायमै रहेकाले भेडा उत्पादन र बिक्री वितरणका बारेमा सरकारले विशेष चासो दिनुपर्ने किसानले गुनासो गरेका छन् । तिलागुफाकै मानबहादुर रावत पनि भेडापालनमा लागेको दशकौँ पुगेको छ । हामीले यस्तो काम गरेका छौँ भनेर स्थानीय र प्रदेश सरकारलाई समेत जानकारी गराएका छौँ, धेरै भेडापालन गर्दा कहिलेकाहीँ रोग लागेर सयौँ भेडा एकैपटक मर्न सक्ने खतरा हुन्छ । सरकारले बीमाको व्यवस्था, बजारीकरणको व्यवस्था र उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गरिदिएको भए अझै प्रभावकारी रुपमा भेडापालन व्यवसायमा लाग्ने रावतले बताउनुभयो । दैलेखमै च्याउ उद्योग खोलेर दिनहुँ ताजा च्याउ बिक्री गर्दै आउनुभएका विजय ज्ञावलीले पौरखी किसानका लागि सरकारले दिएको बैंकिङ ब्याज लगायतका सुविधा नपाएको गुनासो गर्नुभयो । उहाँको च्याउ प्रशोधन र उत्पादन उद्योग सदरमुकाममै सञ्चालन भइरहेको छ । मिहिनेती किसानलाई राज्यले प्रदान गर्नुपर्ने सेवासुविधाहरु प्रदान गर्न सकेको छैन, नीति छ तर काम गर्नेलाई यो वा त्यो बहानामा नीतिबाट बाहिर राखिन्छ । राज्यका अनुदान काम नगर्नेका हातमा पुगेपछि पौखरी किसान दिनप्रतिदिन समस्यामा पर्दै गएको उहाँको गुनासो छ ।

Featured News

Advertisement