शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध



आईतवार २४ , आश्विन २०७८

 

चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् ।बडादसैँ २०७८ को शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए । महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो हिस्सामा कर तिरेको सुनचाँदी तथा आभूषण व्यवसायलाई सहजरूपमा चलाउन पाउनुपर्ने माग गर्नुभयो । उहाँले व्यवसायलाई मर्यादित बनाएर लैजाने प्रतिबद्धता जनाउँदै नेपाली मौलिक गहना निर्यात गरेर रोजगारी बढाउन सकिने धारणा राख्नुभयो । संस्थाकै विशिष्ट सदस्य रुद्रबहादुर बराइलीले राज्यले नीतिगतरूपमा सम्बोधन गरेको खण्डमा यस व्यवसायबाट धेरैलाई रोजगारी दिन सकिने तथा सरकारको राजस्वमा पनि बढोत्तरी हुने बताउनुभयो । महासङ्घको तथ्याङ्कअनुसार देशका ७७ वटै जिल्लामा गरगहना व्यावसायिक फर्म सञ्चालनमा छन् । महासङ्घमा अहिले चार हजार व्यवसायी आबद्ध छन् । मुलुकभर गरगहना व्यवसायीको कूल सङ्ख्या २३ हजार हाराहारी रहेको छ । वाणिज्य बैंकमार्फत दैनिक २० केजी सुन बिक्री वितरण हुँदै आएको छ । मागको ३० प्रतिशत मात्रै आपूर्ति हुने गरेको व्यवसायीको भनाइ छ । संस्थाका द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्माले दैनिक २० किलोको कोटा निर्धारण गरेको यो मागअनुसार धान्नै नसकिएको भन्दै सुन आयातको कोटा बढाउन आग्रह गर्नुभयो । यो व्यवसायमा करिब छ लाख कालिगड छन् । भारतको कोलकाता र पश्चिम बङ्गालबाट कालिगड आउँछन् । यसमा नेपाली ४० र विदेशी ६० प्रतिशत छन् । आयातित सुनमध्ये १० किलो वाग्मती प्रदेश र बाँकी १० किलो ६९ जिल्लालाई जाने गरेको छ । बैंक खाता खोल्न नसकेर सुन ल्याउन समस्या भएको व्यवसायीको गुनासो छ । विश्व बजारमा सुनको गरगहनाको माग बढ्दो छ । अहिले ५० भन्दा बढी देशमा गरगहना पठाइने गरिएको छ । महासङघमा २६ सङ्घ आबद्ध छन् । व्यवसायीले हरेक बैंकमा खाता खोल्नुपर्छ ।

Featured News

Advertisement