मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा कोइराला



शनिबार २३ , आश्विन २०७८

 

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उहाँले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताउनुभएको हो । महामन्त्री डा कोइरालाले कांग्रेसभित्रको गुठको अन्त्यका लागि आफूले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वार दिन लागेको बताउनुभयो । “काँग्रेसलाई एकढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेद्वारी रहन्छ”, डा कोइरालाले भन्नुभयो । कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । “कांग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्श विना कसैसँग सम्झौता गर्नु हुँदैन”, उहाँले भन्नुभयो । जनतालाई काँग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उहाँको भनाइ थियो । कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताउनुभयो । पार्टीको सिद्धान्त र विचार विपरित कांग्रेस अगाडि बढेको उहाँको भनाइ थियो । सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हाँसिल गर्न नसक्ने बताउनुभयो ।

Featured News

Advertisement