मध्यरातसम्मको तोडफोडले तहसनहस बन्यो पाँचथर अस्पताल
फिदिम : जिल्ला अस्पताल पाँचथरमा उपचाररत तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको मृत्युपश्चात अस्पताल रणमैदानमा परिणत भएको छ। अस्पताल प्रशासन र मृतक बालिकाका आफन्तहरुबीच बुधबार दिनभर भएको वार्ता निष्कर्षविहिन भएपछि साँझ सात बजेदेखि अस्पताल परिसर रणमैदानमा परिणत बनेको हो।
मध्यरातसम्म आन्दोनकारीहरुले अस्पतालमा ढुंगामुढा प्रहार गरे। ठूलो संख्यामा जम्मा भएर हुलदंगा मच्चाएका आन्दोलनकारीहरुले अस्पतालको भौतिक संरचनामा नराम्ररी क्षति पुर्याएका छन्। अस्पताल परिसरमा ढुंगामुढा र इटाको थुप्रो देखिन्छ।
अस्पतालका झ्यालढोकाहरु भग्नावशेषमा परिणत भएका छन्। आकस्मिक कक्षमा पनि इटा र ढुंगाहरु थुप्रिएका छन्। आन्दोलनकारीलाई तितरबितर पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। आन्दोनकारीमाथि प्रहरीले लाठि चार्ज गर्दासमेत अस्पतालमा हुलदंगा नरोकिएपछि प्रहरीले दर्जनौ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।
मध्यरातसम्म फिदिम बजार कोलाहर र हुलदंगाले गर्दा आतंकित बनेको थियो। अस्पतालमा उपचाररत बिरामिहरु त्रसित थिए। मध्यरातपछि आन्दोलनकारीहरु तितरबितर भएका थिए। आन्दोलनकारीहरुको ढुंगामुढाबाट अस्पतालमा ठूला क्षति पुगेको छ। ठोस निष्कर्षमा नपुगेसम्म आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको अस्पताललका सूचना अधिकृत नारायण जोशीले जानकारी दिए।
Via:annapurnapost








