शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

कास्कीका पुल निर्माण : म्याद सकियो, काम अधुरै !



मंगलवार १९ , आश्विन २०७८

१९ असोज, पोखरा । कास्कीको मादी गाउँपालिका र लमजुङको मध्यनेपाल जोड्ने ‘हंसपुर-टिमुरे’ पुल निर्धारित समयमै धमाधम बनेको भए यतिबेला दुई जिल्लाका बासिन्दालाई आउजाउ गर्न सजिलो हुने थियो । तर, समयमै पुल नबन्दा दुवै जिल्लाका स्थानीयलाई बर्खामा मर्का पर्ने गरेको छ । मादी नदीमाथि बनिरहेको उक्त पुल गत भदौमै सकिनुपर्थ्यो । तर, समय सकिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि ३० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय, कास्कीले आर्थिक वर्ष ०७२/७३ मा दुई वर्षभित्र सक्ने गरी सिरुवा कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । कार्यालयल ६ करोड ९२ लाख रुपैयाँ सिरुवासँग सम्झौता गरेको थियो 

बीचमा कोभिड महामारीसँगै सुरु भएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीका कारण समयमा पुल निर्माणको काम नसकिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण सुवेदी बताउँछन् । ‘निर्माण व्यवसायीले कार्यतालिका बमोजिम काम गरिदिएको भए समयमै पुलको काम सकिन्थ्यो । निर्माण व्यवसायीले ढिलासुस्ती गरिदियो,’ उनले भने ।

सम्झौता म्याद सकिएपछि दोस्रोपटक थपिएको समय पनि गत फागुन ६ गते नै सकिइसकेको छ । ‘भदौ पाँच गतेको मन्त्रिपरिषद्को बैठकले कोभिड लकडाउन प्रभावित निर्माण व्यवसायीलाई ०७८ मसान्तसम्म समयसीमा थपिदिने निर्णय गरेको छ । सोही निर्णय बमोजिम अहिले ठेकेदार कम्पनीको चैतम्याद थप गरिएको छ,’ इन्जिनियर सुवेदीले भने ।

सिरुवा कन्स्ट्रक्सनले हंसपुर-टिमुरे जोड्ने पुलसँगै पोखरा विजयपुर खोला, काफलघारीमा पनि पुल बनाउने जिम्मा लिएको छ । पोखरा १३ र २८ नम्बर वडा जोड्ने उक्त पुल पनि अलपत्र छ । आर्थिक वर्ष २०७२/७३ मा २ वर्षभित्र सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले म्याद सकिएको लामो समय भइसक्दा पनि पूरा हुन सकेको छैन ।

०७५ असारमै पुल निर्माणको काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने पुलको काम समयमा नसकिएपछि ७७ वैशाखदेखि गत फागुन ६ गतेसम्म म्याद थपिएको थियो । तर, उक्त म्यादसमेत सकिइसकेको छ ।

उक्त पुल पनि सिरुवा कन्स्ट्रक्सनले निर्माण ठेक्का पाएको थियो । पुलको ४० प्रतिशतमात्रै भौतिक प्रगति छ । अहिले उक्त पुलको पनि कोभिड प्रभावित सुविधा प्राप्त गरेर चैत मसान्तसम्म पुनः म्याद थपिएको इन्जिनियर सुवेदीले जानकारी दिए ।

३० महीनामा बन्नुपर्ने पुल ९ वर्षमा पनि सकिएन

कास्कीमा बनिरहेको पुलमध्ये घुम्ले बजार, मादी नदीमाथि बनिरहेको पुलको कामको ९ वर्षमा बल्लबल्ल ९८ प्रतिशत सकिएको छ । ०६९ साउनमा ३० महिनाभित्र सक्ने गरी सरकारले लोकप्रिय शंकरमाली जेभीसँग ५ करोड ९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । उक्त पुल पनि कास्की र लमजुङलाई जोड्ने गरी बनिरहेको हो ।

पटकपटक म्याद थप गरेर अन्तिम समय थपिएको म्यादसमेत गत असारमै सकिइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए । ‘पुलको अहिले फेरि चैत मसान्तसम्म सरकारले थपिइदिएको छ । थोरैमात्र काम बाँकी रहेकाले अब पुसभित्रै सकिन्छ,’ उनले भने । यसअघि पनि समयमै पुल नसकेको भन्दै जेभीले पटकपटक जरिवाना तिर्दै म्याद थप्दै आएको थियो ।

असोज मसान्तमा म्याद सकिनेगरी डिभिजन कार्यालयले नै सम्झौता गरेको बागलुङ-पोखरा सडकअन्तर्गतको फिर्केखोला पुलको काम पनि अलपत्रै छ । म्याद सकिन केहीदिनमात्रै बाँकी हुँदा पुलको जगको कामसमेत पूरा हुन सकेको छैन । कार्यालयले २०७५ असोजमा ८ गते शान्ति आरोग्य जेभीसँग १२ करोड ३२ लाख रुपैयाँमा २ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

‘सुरुका केही महिना जग्गा मुआब्जा विवादले काम हुनै पाएन । पछि फेरि त्यहाँ खानेपानी, बिजुली पोल लगायतले समस्या पार्‍यो’ पुलको काम हेरिरहेका डिभिजनका इन्जिनियर सन्तोष थापा भन्छन्, ‘अहिले बिजुली पोलको समस्या टर्‍यो । तर, खानेपानी पाइप र मुआब्जाको समस्या उस्तै छ ।’

पुल बनाउन खानेपानी पाइप सार्नुपर्ने र पाइप सार्दा पूरा पोखरामा पानीको समस्या आउने इन्जिनियर थापा सुनाउँछन् । ‘अहिले खानेपानीसँग छलफल भइरहेको छ । जग्गा मुआब्जाका लागि केन्द्रलाई पत्राचार गरिसकेका छौं । त्यसले गर्दा ढिलाइ हुन पुगेको हो,’ उनले भने ।

कोभिड महामारीका कारण सरकारले दिएको म्याद थप सुविधाले चैत मसान्तसम्म ठेकेदार कम्पनीले पुल निर्माण सकिइसक्नुपर्नेछ । त, इन्जिनियर थापाकै भनाइलाई आधार मान्ने हो भने जग्गा मुआब्जा विवादकै कारण पुल निर्माणको काम अझै लम्बिने देखिन्छ । ६ लेनको बाटोमा दुई लेनको मात्रै पुल हुँदा त्यहाँ दिनहुँ दुर्घटना हुने गरेको छ ।

 

Featured News

Advertisement