आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

पर्यटन दिवसमा सहभागी हुन राजदूतसहित २६ सदस्यीय टोली पोखरामा



आईतवार १० , आश्विन २०७८

१० भदौ, पोखरा । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइए पनि पर्यटन क्षेत्र अझै लयमा फर्किन सकेको छैन । खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराइभल भिसा प्राप्त गर्न सक्ने सरकारले निर्णय गरेपछि पर्यटन व्यवसायी उत्साही छन्।सोमबार ४१ औं विश्व पर्यटन दिवस मनाइँदै छ । पर्यटन दिवसकै अवसरमा पोखरा खुला रहेको र विदेशी पर्यटकलाई घुम्न आउन सन्देश दिन पोखरामा विशेष कार्यक्रम हुँदैछ । विभिन्न राष्ट्रका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि गरी २६ जना पोखरामा हुने विश्व पर्यटन दिवसको कार्यक्रममा भाग लिन आइतबार दिउँसो पोखरा आउँदैछन् ।नेपालस्थित विभिन्न देशका राजदूतसहित पोखरा आउने २६ जनाको टोलीलाई गण्डकी प्रदेश सरकारले दिउँसो पोखरा विमानस्थलमा स्वागत गर्दैछ । पोखरा आउने टोलीको स्वागतमा आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रीभोज आयोजना गर्दैछ ।गण्डकी प्रदेश सरकारको संयोजनमा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरुको समन्वयमा सोमबार विश्व पर्यटन दिवस विशेष कार्यक्रम हुनेछ । ‘मुख्यमन्त्रीसमेतको उपस्थितिमा आज साँझ टोलीको सम्मानमा रात्रीभोज आयोजना गरिएको छ भने सोमबार विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुनेछ । सोमबारै पोखरा लेकसाइडमा सडक महोत्सव पनि राखिएको छ,’ नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले भने, ‘हामी पोखरा खुला रहेको र पर्यटकलाई घुम्न आउन सन्देश दिन चाहन्छौं ।’२६ जनाको टोली पोखरा आउने भनिए पनि कुन–कुन देशका राजदूत सहभागी हुँदैछन् भन्ने सार्वजनिक गरिएको छैन । राजदूतसहितको टोली पोखरामा आएर विश्व पर्यटन दिवसमा सहभागी हुँदा विश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने गण्डकी प्रदेश सरकारको विश्वास छ । कोभिडपछिको पर्यटन, गण्डकी प्रदेशका पर्यटकीय सम्भावना र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश कसरी दिन सकिन्छ भनेर छलफल तथा परिचयात्मक कार्यक्रम पनि हुने गण्डकी सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।सोमबार बिहान राजदूतसहितको टोली, सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ ।

कास्कीकोट शाहवंशीय राजा कुलमण्डन शाहले शासन गरेको ठाउँ हो । कुलमण्डनलाई नेपालमा शाह वंशको पहिलो राजा मानिन्छ । ‘शाहवंशीय शासन शुरु भएको ऐतिहासिक ठाउँसम्मको हाइकिङ विशेष अर्थपूर्ण हुने विश्वास लिएका छौं,’ बोर्डका प्रमुख भण्डारीले भने ।

हाइकिङका रुट सफाइ भइसकेको यसको समन्वय गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशील पौडेलले जानकारी दिए । विश्व पर्यटन दिवसकै अवसरमा सोमबार साँझ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराले सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवर्द्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानासहितको सडक महोत्सवको आयोजना गरेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पर्यटन दिवसको विशेष कार्यक्रममार्फत पर्यटन क्षेत्र अब लयमा फर्किएको सन्देश जाने बताए ।

Featured News

Advertisement