पाँचथरमा नयाँ शहर आयोजनाकाे जग्गा एकीकरणको काम पूरा
पाँचथर / नयाँ शहर आयोजनाअन्तर्गत पाँचथरको फिदिममा जग्गा एकीकरणको काम पूरा भएको छ ।
आधुनिक बस्ती विकास गर्ने उद्देश्यसहित थालिएको जग्गा एकीकरणको काम पाँच वर्षपछि पूरा भएको हो । एकीकरण पूरा भएपछि सो जग्गा जग्गाधनीलाई फिर्ता गर्ने तयारी थालिएको छ । जग्गा एकीकरण आयोजनाअन्तर्गत जमीनलाई आधुनिक बस्ती बसाल्न उपयुक्त बनाइएको हो ।
फिदिम नगरपालिका–२ नेपालटारमा स्थानीयवासीको ९९ रोपनी जग्गामा बस्ती बसाल्न उपयुक्त चौकोष र मोहडा निर्माण, सडक निर्माण, चौर तथा पार्कका लागि आवश्यक जग्गा व्यवस्थापन, सरकारी कार्यालयका लागि जग्गा व्यवस्थापनलगायत कार्य सम्पन्न भएको छ ।
आधुनिक बस्तीका लागि विकसित भएको उक्त जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्ने कार्य आगामी साताबाट शुरु हुन लागेको नयाँ शहर आयोजना कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिए।
नयाँ शहर आयोजना कार्यालय फिदिमले नेपालटार क्षेत्रमा बस्ती विकास गर्ने उद्देश्यसहित २०७२ सालबाट जग्गा एकीकरणको कार्य थालेको थियो । स्थानीयवासीको १०० कित्तामा रहेको ९९ रोपनी जग्गालाई एकीकरण गर्न अधिग्रहण गरी विकसित तुल्याइएको हो ।
विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद्को बैठकले जग्गा एकीकरणका लागि यहाँको १२३.३४ रोपनी जग्गा, जग्गा प्राप्ति ऐन २०३४ बमोजिम अधिग्रहण गर्न स्वीकृति दिएको थियो ।
एकीकरणपछि उक्त जग्गा १२९ वटा कित्तामा विभाजन भएको छ । आयोजनाअन्तर्गत घर निर्माणका लागि उपयुक्त चौकोष र मोहडासहितका घडेरी बनाइएको छ । ग्राभेल गरिएको बाटोले सबै कित्ता एवं घडेरीहरुलाई समेटेको छ भने तीन स्थानमा खुला चौर राखिएको छ ।
यहाँका ७२ जना जग्गाधनीले आफ्नो कूल जग्गाको १० प्रतिशत ‘सेवा प्लट’का रुपमा आयोजनालाई दिई जग्गा एकीकरण आयोजनामा सामेल भएका थिए ।
उक्त १० प्रतिशत सेवा प्लटको जग्गा अब सरकारी कार्यालयहरु निर्माणका लागि प्रयोग हुने आयोजना कार्यालयका प्रमुख प्रजापतिले जानकारी दिए ।
जग्गा एकीकरण आयोजनाअन्तर्गत व्यवस्थित शहरीकरणको जग बसाल्ने सरकारी लक्ष्यअनुसार हालसम्म रु दुई करोड ५० लाखभन्दा बढी बजेट खर्च भइसकेको छ । जग्गा एकीकरण उपभोक्ता समितिका सदस्य विजयहाङ आङ्देम्बे एकीकृत जग्गामा संरचना निर्माण गर्न उपभोक्ता आतुर रहेको बताउँछन् ।








