आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

जनगणनाका लागि १२८ सुपरिवेक्षक



आईतवार ३ , आश्विन २०७८

 

राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ । जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसङ्ख्याको आधारमा छ स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गरी १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणको काम सुरु गरेको हो । पहिलो चरणमा सात दिनको तालिम दिएर १२८ सुपरिवेक्षक भदौ ३० गतेदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइसकिएको जनगणना कार्यालयका अधिकारी दीपक कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि बैशाख पहिलो सातामै स्थानीय जनगणना कार्यालय स्थापना गरी सुपरिवेक्षकको लागि तालिम आयोजना गरिरहेकै बेलामा कोरोना सङ्क्रमणको दोस्रो लहरकोे कारण सात दिनको तालिमलाई पाँच दिनमा नै स्थगित गर्न परेकामा अहिले सङ्क्रमण दर कम भएसँगै पुनः बाँकी दुई दिनको तालिम भदौ २७ र २८ गते सम्पन्न गरेर ३० गतेदेखि नै कार्यक्षेत्रमा खटाइसकेका छौं ।” जनगणना अधिकारी कोइरालाले भन्नुभयो,“खटिसकेका सुपरिवेक्षकले पहिलो चरणमा आगामी असोज १८ गतेसम्म सूचीकरणको विवरण सङ्कलन गरिसक्नेछन् ।” सुपरिवेक्षकले घर तथा घरपरिवार सूची दर्ताको काम सकेपछि गणकलाई आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म खटाइने छ । जनगणनाका लागि अहिले जिल्लाको रोशी, खानीखोला र महाभारत गाउँपालिकाका लागि रोशीमै कार्यालय राखेर धनवीर तामाङलाई, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाका लागि पनौतीमा कार्यालय सञ्चालन गरेर राकुमार तामाङलाई, भुम्लु र चौरीदेउराली गाउँपालिकका लागि भुम्लुमा कार्यालय सञ्चालन गरेर रुपक अधिकारीलाई, मण्डनदेउपुर र पाँचखाल नगरपालिकाका लागि पाँचखालमा कार्यालय सञ्चालन गरेर प्रसन्न सीपखानलाई, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकका लागि नमोबुद्धमा कार्यालय सञ्चालन गरेर सुमन भुर्तेललाई तथा बनेपा र धुलिखेल नगरपालिकाका लागि धुलिखेलमा कार्यालय सञ्चालन गरेर नारदमणि कट्टेललाई स्थानीय जनगणना अधिकारी तोकेर काम सञ्चालन गरिएको छ । सूचीकरणका लागि नगरपालिका रहेका पनौतीमा १७, बनेपामा १६, धुलिखेलमा ११, पाँचखालमा १५, नमोबुद्धमा १०, मण्डनदेउपुरमा १२ सुपरिवेक्षक खटाइएको छ । त्यस्तै गाउँपालिका रहेका रोशीमा १०, तेमालमा सात, महाभारतमा छ, चौरीदेउरालीमा सात, भुम्लुमा सात, खानीखोलामा पाँच र बेथानचोक गाउँपालिकामा पाँच सुपरिवेक्षक खटाइएको कार्यालयले जनाएको छ । त्यस्तै आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरिने जनगणनाका लागि कार्यतालिका तयारी गरी ४६६ गणक खटिने भएका छन् ।

Featured News

Advertisement