सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

म्याग्दीमा असोज १ गतेदेखि विद्यालय खुल्ने



सोमबार २८ , भाद्र २०७८

 

कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्ड असोज १ गतेदेखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गत वैशाख दोस्रो हप्तादेखि बन्द भएका शैक्षिक संस्था र तातोपानीका कुण्ड खुलाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोभिड–१९ सम्बन्धी सूक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय र तातोपानी कुण्ड खुलाउने निर्णय गरिएको जानकारी दिनुभयो । “बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट विद्यालय खुलाउन सिफारिस भएर आएको थियो”, उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको दर घटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय भएको हो ।” धवलागिरि, रघुगङ्गा, मङ्गला र अन्नपूर्ण गाउँपालिकाले यसअघि नै विद्यालय सञ्चालन गरिरहेका छन् । यसैगरी म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डमा जिल्लावासीका लागि सर्त पालना गरेर स्नानका लागि खुलाउने निर्णय भएको छ । कोरोना विरुद्धको खोप लगाएको १० दिन नाघेका र ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेनको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीलाई तातोपानीमा स्नान गर्न दिइने भएको छ । बेनी नगरपालिकाको सिंगा, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग, रातोपानी, सेकार्कु, रघुगङ्गाको दर्मिजा, धवलागिरीको बगर र गुर्जामा प्राकृतिक तातोपानीका कुण्ड रहेका छन् । म्याग्दी कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५० जनाभन्दा कम छ । पैँतालिसमध्ये ३० वटा वडामा कोरोना सङ्क्रमित छैनन् । जिल्ला रेडजोनबाट ग्रिनजोन बनेको छ । हालसम्म जिल्लाभर तीन हजार २४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीमा हालसम्म ३२ हजार जनाभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । अठार वर्षभन्दा माथि उमेर समूहका नागरिकको सङ्ख्या ६७ हजार छ । धवलागिरि गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लाभित्र ५४ र जिल्ला बाहिर २६ जना गरी कूल ८० को कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

Featured News

Advertisement