सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट



बिहीबार २४ , भाद्र २०७८

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले आज शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास बालकोटमा भएको सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीका बारेमा छलफल भएको थियो । सो भेटमा उपाध्यक्ष सुमारले एमसीसी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा अमेरिकी सरकार रहेकाले यसका लागि सघाउन आग्रह गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी अहिले प्रतिपक्षमा रहेकाले एमसीसीबारे सरकारको स्पष्ट धारणा नआएसम्म पार्टीले धारणा नबनाउने बताउनुभएको भेटमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । “अहिलेको सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने बारेमा सरकार पहिला स्पष्ट हुनुपर्छ, अनि एमालेले आफ्नो धारणा बनाउँछ, अहिले एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले जानकारी दिनुभयो । एमालेको नेतृत्वमा सरकार हुँदा एमसीसी अनुमोदन गर्न प्रयास गरे पनि तत्कालीन सभामुखले संसद्मा पेस नगरीदिँदा अघि बढ्न नसकेको स्मरण गराउँदै अहिले एमाले प्रतिपक्षमा रहेकाले यसमा एमालेको प्रत्यक्ष भूमिका नहुने ओलीले जानकारी गराउनुभएको भट्टराईले बताउनुभयो । बालकोट भेटमा उपाध्यक्ष सुमारसँगै एमसीसीका प्रतिनिधि सहभागी थिए । त्यसैगरी एमालेका तर्फबाट विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल, सूर्य थापालगायत सहभागी थिए ।

Featured News

Advertisement