सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

संविधान दिवस घरघरमा राष्ट्रिय झण्डोत्तलनका साथ मनाइने



बुधबार २३ , भाद्र २०७८

 

सातौँ संविधान दिवस २०७८ आगामी असोज २–४ गते राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीका अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा बैकुण्ठ अर्यालका अध्यक्षतामा मन्त्रालयमा आज बिहान बसेको बैठकले विभिन्न सञ्चारमाध्यमले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरघरमा सम्मानका साथ राख्न प्रचारप्रसारका लागि अनुरोध गर्ने भनी निर्णय पनि गरेको छ । संविधान दिवसको शुभकामना सन्देश वा एसएमएस नेपाल टेलिकममार्फत व्यापक रुपमा पठाउने तथा डिस्प्ले बोर्डमा सन्देश प्रसारण गराउने, नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम प्रसारण, प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क । स्मारिका प्रकाशन गराउनाका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेखरचनाको सँगालो प्रकाशन गर्ने, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानबाट संविधानको महत्वबारे समाचार, आलेख, अन्तर्वार्ता, कार्यक्रम आदि प्रसारण, प्रकाशन गराउने निर्णय पनि गरिएको छ । काठमाडौँ उपत्यका र बाहिरका डिस्प्ले बोर्डमा शुभकामना सन्देश राख्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले समन्वय गर्ने अनुरोध पनि गरिने छ । नेपाली सैनिक मञ्च, टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण भने नेपाल टेलिभिजन र रेडियो नेपालले गर्नेछन् ।

Featured News

Advertisement