सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

२४७ फरार प्रतिवादी पक्राउ



मंगलवार १५ , भाद्र २०७८

एक वर्षको अवधिमा स्याङ्जाका २४७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएकामध्ये गत आर्थिक वर्ष २०७७÷७८ मा स्याङ्जामा उक्त सङ्ख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार विभिन्न घटना घटाई मुद्दा लागेका फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवानाको सजाय भुक्तान गराउने कार्यलाई तीव्रता दिएसँगै ठूलो सङ्ख्यामा प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जासहित मातहतका जिल्लास्थित प्रहरी कार्यालयमार्फत खोजीकार्यलाई प्राथमिकता दिएसँगै ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ परेका प्रवक्ता अधिकारीले बताउनुभयो । स्याङ्जा जिल्ला अदालतले फैसला सुनाएकामध्ये पक्राउ परेका फरार प्रतिवादी धेरैजसो सार्वजनिक अपराध, गाली बेइज्जत, कुटपिटका छन् । त्यस्तैगरी साधारण चोरी, लागुऔषध, वैदेशिक रोजगार कसुर, करकाप, सम्बन्धविच्छेद, सवारी ज्यान मुद्दा, नाता कायम, माना चामल, अंशबण्डा, चेक अनादर, हाडनाता करणी, अंश दर्ता, हातहतियार तथा खरखजाना, बहुविवाह, जालसाजी, जुवातास मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका हुन् । “प्रहरीको सक्रियता तथा विभिन्न गोप्य स्रोतबाट प्राप्त विशेष सूचनाका आधारमा फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ” प्रहरी प्रवक्ता अधिकारीले भन्नुभयो, “देशका विभिन्न ठाउँमा लुकेर बसेका वा लामो समयपछि घर फर्किएका पक्राउ परेका छन् भने केही सङ्ख्यामा प्रतिवादी आफैँ सजाय भुक्तानीका लागि पनि आउने गरेका छन् ।” जिल्लामा करिब एक हजारको हाराहारीमा फरार प्रतिवादी रहेकामध्ये हालसम्म ५०० भन्दा बढी पक्राउ परिसकेका प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार फरार प्रतिवादीमध्ये केही देशभित्रै नरहेका र धेरैको मृत्युसमेत भइसकेकाले अब करिब १५० को हाराहारीमा प्रतिवादी फरार रहेका छन् । फरार रहेकाको खोजी तीव्र पारेसँगै पक्राउ पर्ने क्रम बढ्दै गएको छ । “विभिन्न आपराधिक मुद्दामा सहभागी भई फरार रहेका प्रतिवादीलाई पनि खोजी खोजी धेरै लामो समयपछि पनि पक्राउ गरेका छौँ” प्रवक्ता अधिकारीले भन्नुभयो, “ढिलोचाँडो वा कुनै न कुनै दिन फरार प्रतिवादी अवश्य पक्राउ पर्ने र तोकिएको कैद तथा जरिवाना तिर्नै कर लाग्छ ।” कानूनको नजरमा कोही पनि दोषी उम्कन नपाउने उहाँको धारणा छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लाभित्र तथा जिल्लाबाहिरका विभिन्न ठाउँबाट एकैदिन १११ फरार प्रतिवादीलाई पक्राउ गरेको थियो ।

Featured News

Advertisement