मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

तीन औद्योगिकग्राम : प्राथमिकतामा पानी र ढुङ्गा उद्योग



आईतवार १३ , भाद्र २०७८

थोरै लगानीमा साना तथा मझौला उद्योग सञ्चालन गर्न अब टाढा जानुपर्दैन । व्यवसाय गर्न चाहने युवा तथा व्यवसायीका लागि स्रोतसाधन सम्पन्न स्थानको व्यवस्था स्थानीय सरकारले नै गर्छन् । जग्गाको अभाव र पूर्वाधारको अभाव देखाउँदै गाउँ छाड्ने युवालाई जिल्लामा धमाधम औद्योगिक ग्राम स्थापना भइरहेका छन् । गत वर्ष जिल्लाको ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकाले औद्योगिक ग्राम निर्माणको काम थालेका थिए । चालू आर्थिक वर्षमा काठेखोला गाउँपालिकाले पनि औद्योगिक ग्राम स्थापनाको काम अघि बढाएको हो । सडक, पर्खाल, विद्युत्, खानेपानी, शौचालय र कार्यालय प्रयोजनका लागि आवश्यक भवनसमेत तयार गरेर औद्योगिक ग्राम बन्ने चरणमा रहेको ताराखोलाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँ–गाउँमा साना तथा मझौला उद्योगको स्थापना गरेर उत्पादन बढाउन प्रदेश सरकार र सङ्घीय सरकारले लगानी गर्नेछन् । जग्गा व्यवस्थापन र पूर्वाधार निर्माण तथा व्यवसायीलाई आकर्षण गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा छ । ताराखोलाले पहिलो चरणको काम सकेको छ । भवन, पानी र पर्खालको काम बाँकी रहेको अध्यक्ष घर्तीले बताउनुभयो । गत आवमा रु ६४ लाख खर्चेर ताराखोलामा औद्योगिक ग्रामका संरचना निर्माण भएका थिए । एक सय ३८ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम स्थापना गरिएको हो । “अहिलेसम्म कोही कसैले उद्योग स्थापना गछुर्् भनेर आएका छैनन्, काम सकिएपछि पहल थाल्छौं”, घर्तीले भन्नुभयोे, “काठ, ढुङ्गा, पानी, आलु र खाद्यान्नसँग सम्बन्धित उद्योग स्थपाना गर्ने लक्ष्य छ ।” चालू वर्षमा औद्योगिक ग्राम स्थापनाका लागि बजेट पाएको काठेखोलाले सात रेशमा १२० रोपनी जग्गा लिएको छ । रु ९७ लाखको लागतमा निर्माण हुने औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम भइरहेको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । “वन र कृषिजन्य उद्योग स्थापना गर्ने लक्ष्य छ, एक वर्षमा काम सकेर उद्योग स्थापना थाल्छौं”, लामिछानेले भन्नुभयो, “पिउने पानी र स्लेट ढुङ्गाको उद्योग राख्ने योजना छ ।” बागलुङ–१३ को कालाखोलामा ८४ रोपनी जग्गा कालीगण्डकीको तिरमा घेराबार गरिएको छ । सडक, पानी शौचालयलगायतका संरचना तयार भइसकेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । “विद्युत्को हाइटेन्सनलाइन नहटाइदिएका कारण समस्या भएकोे छ, बाँकी काम धमाधम भइरहेका छन्”, पौडेलले भन्नुभयो, “साना उद्योगीको व्यवस्थापनमा सहज हुनेछ ।” बढ्दो सहरीकरण रहेको सो नगरपालिकामा जग्गाको अभावमा उद्योग सञ्चालन गर्नबाट वञ्चित युवा पुस्ताका लागि औद्योगिकग्रामले सहयोग पु¥याउने प्रमुख पौडेलले बताउनुभयो । बागलुङको औद्योगिक ग्राममा पनि पानी उद्योग र ढुङ्गाको स्तरीकरण तथा कटिङ गर्ने उद्योग प्राथमिकतामा छन् ।

Featured News

Advertisement