आफ्नै देशमा मेहेनत गरे सफलता मिल्छ : मुख्यमन्त्री भट्ट
पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा आएर परिश्रम र मेहेनत गर्न आग्रह गर्नुभएको छ । धनगढीमा आज भर्चुअलमार्फत गरिएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री भट्टले भन्नुभयो, “विदेशमा गर्ने मेहेनत आफ्नै ठाउँमा गर्न सकिएमा सफलता मिल्नेछ ।” जघन्य अपराधको घटनाबाट पीडित भएका परिवारमा पु¥याइएको आर्थिक सहयोगको सरहाना गर्दै मुख्यमन्त्रीले सीप सिकेकालाई स्वरोजगारका अवसर सिर्जना गराउने व्यवस्था सरकारले गरिरहेको बताउनुभयो । उहाँले गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडी जिल्लाकी भागिरथी भट्टका परिवारलाई विदेशमा रहेका नेपालीको सङ्गठनद्वारा सङ्कलित रु दुई लाख ७० हजार ८४० हस्तान्तरण गर्नुभयो । विकासमा सिर्जनशीलता नेपाल नामको संस्थाको पहलमा विदेशमा रहेका नेपालीको सङ्गठन नेपलिज एशोसिएशन आफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनमिक रियल स्टेट मेलवर्न (अष्ट्रेलिया)ले उक्त रकम सङ्कलन गरी पठाएको जनाइएको छ ।








