मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

नगरकोट पर्यटनमा थप संरचना बनाइँदै



शनिबार ५ , भाद्र २०७८

पर्यटकीय क्षेत्र नगरकोटमा थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ । यसका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नपाको सीमाक्षेत्रमा पर्ने नगरकोटमा दुवै जिल्लाका स्थानीय तहले आपसी समन्वयमा संरचना निर्माणमा तीव्रता दिएका छन् । नगरकोटको मुख्यचोक भट्टेडाँडामा निर्माणाधीन बसपार्क क्षेत्रमा चाँगुनारायण नगरको लगानीमा बसपार्क तथा पर्यटकीय सूचना केन्द्र, मण्डनदेउपुर नगरको बजेटबाट ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण र रु नौ करोडमा १० लाख लिटरको दुई खानेपानी ट्याङ्की निर्माण भइरहेको छ । थप पर्यटकीय संरचना निर्माणमा दुवै जिल्लाका सीमा क्षेत्रमा स्थानीय तहसँग नगरकोट–नाल्दुम पर्यटन विकास समितिले समन्वय गरिरहेको छ । टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनाउन होटल व्यवसायीसँग छलफल भइरहेको समितिका सचिव प्रदीप अधिकारीले बताउनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकतर्फ बनेपा नपा–२ मा हिलेजलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जिपलाइन र हाइकिङ–टे«ल निर्माण गरिने योजना बनाइएको छ । “पर्यटकलाई आकर्षण गर्ने मनोरञ्जन र मनोरम दृश्यलाई समेट्ने खालका योजना बनाउँदैछौँ”, अधिकारीले भन्नुभयो । हिलेजलजलेमा पर्यटकीय कृत्रिम ताल निर्माण गर्न चालु आर्थिक वर्षमा रु १८ करोड बजेट विनियोजन गरिएको छ । भक्तपुरबाट नगरकोट जाने करिब १७ किलोमिटर मुख्य सडक समयमै पक्की नभएकामा स्थानीय व्यवसायीले गुनासो गर्दै आएका छन् । उक्त सडकको विकल्पका रूपमा हाल तेलकोटबाट हरिगुरु मार्गबाट आवतजावतका लागि निकै सजिलो भएको छ । करिब दुई वर्षअघि नगरकोटस्थित सडक दायाँबायाँ सार्वजनिक जग्गामा वर्षौँदेखि बनाइएका टहरा हटाएपछि हाल नगरकोट भट्टेडाँडा बसपार्क निर्माण गरिने भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र चाँगुनारायण नपा–६ मा निर्माण गरिने बसपार्कको आज नगरप्रमुख सोम मिश्रले शिलान्यास गर्नुभएको छ । उहाँले हाल रु पाँच करोड सात लाख ७६ हजारमा एक वर्षका बसपार्कको निर्माण सम्झौता गरिएको बताउनुभयो । “नगरकोट क्षेत्रलगायत चाँगुनारायण नगरका मुख्य क्षेत्रमा सार्वजनिक शौचालय पनि बन्नेछन्, जसको निःशुल्क सेवा उपलब्ध हुनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार नगरकोटमा समग्र बसपार्क क्षेत्र विकासका लागि रु ५५ करोड लाग्ने उहाँले बताउनुभयो । बसपार्कका लागि ‘ड्रेनवाल’ निर्माण भइरहेको छ । नगरकोटमा साना–ठूला गरी १०० होटल छन् । करिब ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकतर्फ पर्दछन् । यसमध्ये केही मात्रै ‘फो–स्टार र थ्री–स्टार’का रहेका छन् । नगरकोटमा करिब दर्जन होटल निर्माणाधीन अवस्थामा छन् भने त्यतिनै सङ्ख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको जनाइएको छ ।

Featured News

Advertisement