बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

उद्योगी व्यवसायीलाई कोरोना विरुद्धको खोप दिन माग



शुक्रबार ४ , भाद्र २०७८

 

कूल ६०० उद्योगी तथा व्यवसायीले आज कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घ सचिवालयमा उद्योगी व्यवसायीका लागि कोभिड विरूद्धको खोप लगाइएको हो । महासङ्घले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलब्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागले खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा महासङ्घका सदस्य सङ्घ संस्था आवद्ध उद्यमी व्यवसायी, कामदार कर्मचारी तथा परिवारजनलाई खोप लगाइएको हो । उक्त कार्यक्रममा करिव ६०० जनाले भेरोशिल खोप लगाएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गरिएको खोप कार्यक्रम साँझ ४ बजेसम्म चलेको थियो । सङ्घीय सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिड विरूद्धको खोप उपलब्ध गराएजस्तै सबै प्रदेश सरकारले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन महासङ्घसम्बन्धित प्रदेश सरकारसँग अनुरोध गरेको छ । यसैबीच महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई प्राथमिकताको सूचीमा राखेर खोपको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २१औँ वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण÷पदभार ग्रहण तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिलाई सम्मान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले खोप नपाएसम्म व्यावसायिक गतिविधि अगाडि बढ्न नसक्ने बताउनुभएको हो । “अहिले कोभिड महामारीमा व्यावसायिक गतिविधि ठप्प प्राय छन् । आर्थिक तथा व्यावसायिक गतिविधि अगाडि बढाउन कोभिड विरुद्धको खोप अनिवार्य विषय बनेको छ । आर्थिक गतिविधि सञ्चालन तथा विस्तारका लागि सबै व्यवसायीलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था गर्न म नेपाल सरकारलाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो । भूकम्पपछि बन्द रहेको कोदारी राजमार्गको बारेमा बोल्दै ढकालले भन्नुभयो “चीनसँग नेपालको व्यापारिक सम्बन्धका लागि कोदारी राजमार्गको महत्व ठूलो रहेको छ । समुद्रीमार्गबाट सामान ल्याउन महिनौ लाग्ने हुनाले यसलाई सञ्चालनमा ल्याउन नेपाल सरकारले पहल गरोस् ।” सरकारले क्रमशः निजी क्षेत्रका सुझाव ग्रहण गर्ने गरेको बताउँदै उहाँले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा पूर्णरूपमा परिवर्तन हुनुुपर्ने बताउनुभयो ।

Featured News

Advertisement