कोष स्थापनाका लागि पत्रकार महासंघ महानगरको १५ लाख सहयोग
काठमाडौँ
काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाई जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि रु १५ लाख सहयोग गरेको छ ।
शनिबार काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि सो सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको भन्दै सञ्चारकर्मीहरुलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गरेका छन् ।
‘सही भन्दा पनि चाहिले भन्दा बढी लेपन गरेर समाचारलाई बङ्ग्याइयो भने त्यसले गलत सन्देश दिन्छ,’ शाक्यले भन्नुभयो, ‘व्यवसायिक हिसावले मात्रै पत्रकारिता गर्दा वा आफ्नो रोजगारी जोगाउने मात्रै उदेश्यले गलत सन्देश दिने गरी समाचार संप्रेषण गरियो भने त्यसले सिङ्गो समाज, राष्ट्र र राष्ट्रियता नै खतरामा पर्न सक्छ । त्यस कुरामा तपाईँहरु सचेत हुनुहुन्छ । अझ सचेत हुनुहोला भन्ने मेरो अपेक्षा छ । त्यसमा अझै बढी ध्यान दिनुहोला । सही सूचना दिनु तपाईँहरुको दायित्व र जिम्मेवारी भित्रपर्छ ।’
उनले कतिपय अवस्थामा सामाजिक सञ्जाल र मिशन पत्रकारिताका नाममा समाजलाई दिग्गभ्रमित पार्ने काम भएको र त्यसको मारमा स्वयं पनि पर्ने गरेको गुनासो गरे ।








