बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह



शुक्रबार २९ , श्रावण २०७८

झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण उद्योगी–व्यवसायी मारमा परेको बताउनुभयो । “महामारीका बेला व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो, “उहाँको समस्या बुझिदिनु पर्छ ।” अर्का व्यवसायी जीवनकुमार खड्काले निषेधाज्ञा अवधिमा व्यापार–व्यवसाय ठप्प भएका व्यवसायीलाई पहिचान गरी ब्याज ताकेता नगरिदिन र सकेसम्म लचक हुन आग्रह गर्नुभयो । छलफलमा सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुवास श्रेष्ठले हाल कारोबार भएका तथा सञ्चालनमा रहेका उद्योगी–व्यवसायीलाई मात्र ब्याजका लागि ताकेता गरिएको बताउनुभयो । “व्यापार बन्द भएका व्यवसायीलाई ताकेता गरिएको छैन”, उहाँले भन्नुभयो, “जुन व्यवसाय चलेको छ, त्यहीअनुसार काम गरिरहेका छौँ ।” छलफलमा एनआइसी एशिया बैंकका दशरथ पराजुली, सानिमा बैंकका अम्बिका खतिवडा, गुडविल फाइनान्सका सुमन पौडेल, मुक्तिनाथ विकास बैंकका हरि ओझालगायतका बैंक प्रतिनिधिले व्यापार र कारोबार नभएका व्यवसायीलाई ब्याज र किस्ताका लागि दबाब नदिइएको बताउनुभयो ।

Featured News

Advertisement