बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

बाढीपहिराले मनाङको विकासमा ८० प्रतिशत क्षति



बुधबार २७ , श्रावण २०७८

असार १ गतेको गएको बाढीपहिराका कारण मनाङले भौतिक संरचनामा ठूलो क्षति बेहोरेको छ । वर्षासँगै मस्र्याङ्दी नदी र अन्य खोलामा आएको बाढीले मनाङको प्रवेशद्वारस्थित तालगाउँ डुबानमा प¥यो । सदरमुकाम चामे, नासों र नार्पाभूमि गाउँपालिकाका मानव बस्ती बाढी पस्दा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ । सशस्त्र प्रहरी बल मनाङ प्रमुख एवं ३२ नम्बर गुल्मका गुल्मपति प्रहरी नायव उपरीक्षक (डिएसपी) होमनाथ पन्थीले जिल्लाका सडक, खानेपानी र विद्युत्विहीन अवस्थामा रहेको बताउनुभयो । डिएसपी पन्थीले मनाङका ८० प्रतिशत सडकमा क्षति पुगेको जानकारी दिनुभयो । “जिल्लाका तीन लघुजलविद्युत् आयोजना बाढीले बगाएपछि विद्युत् आपूर्ति बन्द छ । खानेपानी अभाव छ । सडक सञ्जालबाट टाढिएका छौँ”, उहाँले भन्नुभयो, “लमजुङ–चामे सडकखण्डका सडक र बाटो पूर्णरूपमा क्षतविक्षत छन्, जिल्लासँग जोड्ने झोलुङ्गे र मोटरेकल पुल पनि बाढीले बगायो, चामेबाट ५०० मिटर दायाँबाँया जानसक्ने अवस्था नै छैन ।” त्यस्तै सशस्त्रले अन्तिम विकल्पको रूपमा रहेको सदरमुकाम चामेबाट माथिल्लो मनाङ जाने लाइफलाइनको रूपमा रहेको एक मात्र पुललाई जोगाउनतर्फ लागिपरेको छ । भौगोलिक विकटतामा रहेको मनाङको एकमात्र सडक सञ्जाल टुट्दा सदरमुकाम चामेसँगको सडक सम्पर्कसमेत विच्छेद भएकाले जोखिम मोलेरै पुल जोगाउन लागिएको सशस्त्र प्रहरीले जनाएको छ । चामेको मोटरेबल पुलमा रहेको अवरोध सशस्त्रले हटाएको डिएसपी पन्थीले जानकारी दिनुभयो । “यही एउटा पुललाई जोगाउन सकियो र माथिल्लो मनाङसँगको सम्पर्क टुट्नबाट जोगिएको छ”, उहाँले भन्नुभयो, “हामीसँग भएको तालिमप्राप्त जनशक्तिलाई प्रयोगबाट जोगाउन सफल भएका छौँ ।” डिएसपी पन्थीका अनुसार मनाङका आठ वटा झोलुङ्गे पुल, तीन वटा काठबाट बनेका मोटरेबल पुल बाढीले बगाएको छ । त्यस्तै तिमाङ, चामे र तिल्चेमा रहेका तीन वटा लघुजलविद्युत् आयोजना पनि बाढीले बगाएको छ । मनाङ प्रवेश गरेपछिका ८० प्रतिशत सडक पूर्णरूपमा ध्वस्त भएका छन् । उहाँका अनुसार हालसम्म मनाङले मानवीय क्षति भने बेहोर्नुपरेको छैन । वर्षापछि बढेका खोला अझै घटेका छैनन् । वर्षा हुने क्रमसमेत जारी नै रहेकाले खोलाखोल्सी घटेका छैनन् । “अब पहिलेकै अवस्थामा पुर्नजीवित गर्न त दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ”, पन्थी भन्नुहुन्छ, “सङ्घीयता आएपछि भएको चार वर्षको विकासको ८० प्रतिशत पूर्णरूपमा क्षति भएको छ । बस्ती नै स्थानान्तरण गर्नुपर्ने भएकाले एकदम जोखिम अवस्थामा छ ।”

Featured News

Advertisement