बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

अवरुद्ध सडकको निर्माण शुरु



आईतवार २४ , श्रावण २०७८

बनेपा, २४ साउन (रासस) ः वर्षाका कारण अवरुद्ध भएको डाँडापारिस्थित महाभारत गाउँपालिका केन्द्र देवीटार जोड्ने सडकखण्डको कालोपत्र गर्ने कार्य शुरु भएको छ । कालोपत्र पूरा नहुँदा बर्सेनि सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको छ । जसका कारण यात्रुहरू सास्ती भोग्न बाध्य छन् । बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थली–रजवास–बुढाखानी किल्ला–तीनखुट्टे–खोलाघारी–घ्याब्रिङ–देवीटार सडक खण्डअन्तर्गत पहिलो चरणमा महाभारत गाउँपालिका–५ तीनखुट्टे–खोलाघारी–घ्याब्रिङ–देवीटार सडक खण्डको ८.७ किलोमिटर बाटो निर्माण शुरु भएको थियो । वाग्मती प्रदेश सरकारको ४९ करोड बजेटबाट करिब एक वर्ष अगाडि निर्माण शुरु गरिएको सो सडकमा अहिलेसम्म मेशिनरी वाल, ग्याविङ वाल र भित्ता कटिङको काम भएको छ । २०७७ साल असार ३० गते श्रेष्ठ÷साक्षम जेभी सामाखुसीले सम्झौता गरेको सो सडक खण्डको निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्नुपर्ने छ । निर्माण कम्पनीका आयोजना प्रवन्धक सुरेश भण्डारीले वर्षाका कारण रोकिएको काम अब भदौको पहिलो सातादेखि शुरु हुने बताउनुभयो । “वर्षामा कटिङ गरेको ठाउँबाट अलिअलि माथिबाट झरेको पहिरो सम्याउने र प्रयोगमा ल्याएको मेशिनहरु पनि मर्मत गर्नुपर्ने अवस्था भएकाले अपरेटर मगाइएको र उनीहरु त्यहाँ पुगेपछि काम शुरु हुनेछ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक मेशिनलगायत सामग्री पुगेपछि छिट्टै शुरु गर्नेछौँ ।” कामको सिलसिलामा घ्याब्रिङमा आवश्यकताभन्दा बढी कटिङ गरेको ठाउँमा खसेको पहिराले केही समस्या भएकामा त्यसलाई स्थानीय प्रशासनसँग कुरा गरेर आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने काममा आफू लाग्ने उहाँले बताउनुभयो । निर्माण कम्पनीका साइड इन्चार्ज सुनिल कँडेलले यसअघि वर्षाका कारण रोकिएको काम अब छिट्टै शुरु हुने बताउनुभयो । “यसअघि भइरहेको काम वर्षाका कारणले निर्माण सामग्री लान नसकेर रोकिराखेकामा अब मेशिन लाने काम र बाटो माथिबाट खसेको ढिस्कोहरु जेसीभी लगाएर पन्छाउने काम छिट्टै हुन्छ”, उहाँले भन्नुभयो, “अब आवश्यक पर्ने गिट्टी व्यवस्थापनका लागि क्रसर मेशिन राख्ने तयारी भइरहेको छ ।” यसअिघ गरिएका काम वर्षामा गएको बाढीले ठाउँठाउँमा ग्याविङ वाल भत्काएको छ भने माथिबाट पहिरो खसेर खोलेको ट्र्याकसमेत अवरुद्ध भएको छ । जसका कारण करिब ६०÷६५ लाखको क्षतिसमेत भएको कँडेलले बताउनुभयो । सम्झौताअनुसार नौ मिटर चौडाइ सडक बनाएर नाली, ग्याविङ वाल, रिटेनिङ वाल, कच–वे र कल्भर्ट लगायतका संरचना तथा सडक कालोपत्र गर्नुपर्नेछ । सो कार्यका लागि थालनी गरिएको काममा आवश्यकभन्दा बढी सडक चौडा बनाउने र मापदण्ड विपरीत खनेर ढुङ्गा निकालेका कारण पहिरो गएर खोलेको सडकको ट्र्याक बिगार्ने र बस्ती नै जोखिममा पार्ने काम भएको महाभारत गाउँपालिका–६ घ्याब्रिङका स्थानीयवासी बताउँछन् । उजुरी दिएपछि अहिले त्यसका बारेमा आवश्यक अनुगमन र निरीक्षणका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र पूर्वाधार विकास कार्यालय धुलिखेलमा पत्राचार गरेको छ । “निर्माण कम्पनीले सडक मापदण्ड विपरीत खनेर पहिरो जाने अवस्था बनाएर बस्तीमा नै जोखिम बढाउने खालको काम गरेको भन्दै स्थानीय बासिन्दाले उजुरी गरेपछि हामीले आवश्यक काम कारबाही र अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय र पूर्वाधार विकास कार्यालय धुलिखेललाई पत्राचार गरिसकेको छ”, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो, “सम्झौतामा उल्लेख भएअनुसार खन्नुपर्ने चौडाइभन्दा बढी खनेको र ढुङ्गागिट्टीका लागि भित्ता खनेर पहिरो जाने खालको काम गरेको देखिएकाले निर्माण कम्पनीलाई तोकिएको मापदण्डभित्र रहेर काम गर्न आग्रह गरेका छौँ ।” आवश्यकताभन्दा बढी भित्ता कटिङ गरेर सडक माथिबाट पहिरो गएको कारण यातायात सञ्चालन भएको बाटो अहिले अवरुद्ध भएर मान्छे हिँड्नसमेत समस्या भएको उहाँले बताउनुभयो । निर्माण कम्पनीले सो सडक निर्माणका लागि महाभारत गाउँपालिका–६ घ्याब्रिङमा सडकमाथि पट्टिको भित्ता खनेर ग्याविङ वाल र गिट्टीका लागि ढुङ्गा निकाल्ने काम भएको स्थानीय बासिन्दाको भनाइ छ । पूर्वाधार विकास कार्यालय धुलिखेलका प्रमुख लोकनाथ रेग्मीले वर्षाका कारण निर्माण कार्यका लागि आवश्यक पर्ने सामग्री लैजान नसकेको कारण रोकिएको काम सामान लानसक्ने अवस्था भएपछि अगाडि बढ्ने बताउनुभयो । त्यससँगै कटिङ गरेको ठाउँमा सामान्यतः सडकमाथिबाट पहिरो झर्नु सामान्य कुरा भएको बताउँदै उहाँले मापदण्डअनुसार नै काम भइरहेको पाएको बताउनुभयो । विभिन्न कारणले गर्दा भइरहेको काममा ढिलाइ भएकामा यदि समयमा काम सम्पन्न नभए म्याद थप गरेर पनि तोकिएको काम सम्पन्न गर्न आवश्यक पहल हुने प्रमुख रेग्मीले बताउनुभयो । पक्की सडक नहुँदा डाँडापारि क्षेत्रको दुई गाउँपालिका महाभारत र खानीखोलामा वर्षा लागेसँगै यातायात अवरुद्ध हुने भएपछि घण्टौँसम्म पैदल यात्रा गरेर सेवा लिनुपर्ने बाध्यता रहँदै आएको छ ।

Featured News

Advertisement