बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो



आईतवार २४ , श्रावण २०७८

जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आज यहाँ आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रुतपरीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको थियो । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका योजना प्रमुख राजन ढकालका अनुसार एक हजार ५७ नमूना परीक्षणका क्रममा १३ नमूना विसर्जन गरिएको, २० नमूनालाई क्वारेन्टिनमा केही समय राखेर मात्र बिक्री वितरणका लागि अनुमति दिइएको थियो । प्रयोगशाला दुई वर्षअघि सञ्चालनमा ल्याइएको हो । अघिल्लो आवमा २९९ नमूना परीक्षण गरिएको थियो । पहिलो आवमा दुई नमूनालाई बढी विषादीको प्रयोगका कारण विसर्जन गरिएको थियो भने छ नमूनालाई क्वारेन्टिनमा राखिएको उहाँले जानकारी दिनुभयो । गत आवमा प्रयोगशालामा परीक्षण गरिएका नमूनामध्ये सबैभन्दा धेरै काँक्रोमा विषादी प्रयोग भएको पाइएको र चार वटा काँक्राको नमूनालाई विसर्जन गरिएको कार्यालयले जनाएको छ । यस्तौ बोडी, भेडेखुर्सानी, टमाटर, काउली, ब्रोकाउली, सिमी, घिराँैलालगायतमा विषादीको प्रयोग बढी भएको पाइएको छ । कालीमाटी तरकारी बजारबाटसमेत जिल्लाबाट गएका तरकारीमा विषादीको प्रयोग बढी भएको गुनासो आएपछि कृषकलाई गाउँगाउँमा गएर सम्झाउने र विषादीको प्रयोगबारे जानकारी गराउने काम भएको प्रमुख ढकालले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण विदेश गएर फर्किएका र यही रहेका युवा अहिले कृषि पेशामा आकर्षित भएको कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गत आवमा समीक्षा गर्दै चालू आवमा कृषि क्षेत्रमा हुने कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । प्रमुख डल्लाकोटीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको सयम प्राङ्गारिक खेतीको हो । सबैले प्राङ्गारीक मल र उत्पादनको प्रयोग गर्नुपर्छ ।” कार्यक्रममा केन्द्रका प्रमुख युवराज पाण्डेले आगामी कार्यक्रम कृषकमैत्री भएर सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

Featured News

Advertisement