बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र गतिमा



आईतवार २४ , श्रावण २०७८

 

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म राख्नका लागि धनगढीमा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र पारिएको छ । धनगढी उपमहानगरपालिका–३ मा नेपाली सेनाले ठेक्कामार्फत निर्माण गरिरहेको ‘होल्डिङ सेन्टर’ एक हजार व्यक्ति अटाउने क्षमताको रहेको निर्माणमा संलग्न हनुमान कन्स्ट्रक्सनका यज्ञपुरुष न्यौपानेले बताउनुभयो । निर्माणमा २०० भन्दा बढी मजदुरले दैनिक काम पाएका छन् । “आउने भदौ महिनामा निर्माण पूरा गरी नेपाली सेनालाई हस्तान्तरण गर्ने लक्ष्य लिएका छौँ”, न्यौपानेले भन्नुभयो, “निर्माणस्थलसम्म जाने कच्ची बाटो वर्षाका कारण हिलाम्मे हुँदा भने केही समस्या भइरहेको छ ।” कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै गौरीफन्टा सीमा नाका हुँदै भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि गन्तव्यमा पठाउनुपर्नेमा त्यसो नगरिएका कारण यो रोग समुदायस्तरमा फैलिएको बुझाइ छ । भारतमा कोरोना भाइरसको समस्या बढेसँगै गौरीफन्टा नाका हुँदै ठूलो सङ्ख्यामा नेपाली स्वदेश भित्रिने गरेका छन् । यो रोगको सङ्क्रमणका कारण गतिविधि ठप्प हुँदा काम नपाएर बेरोजगार बनेका मजदुर निर्माणाधीन होल्डिङ सेन्टरमा काम पाउँदा खुशी देखिएका छन् । निर्माणस्थलमा भेटिनुभएका मजदुर महेश पार्कीले भन्नुभयो, “मजदुरीको काम नपाउँदा पेट पाल्ने चिन्ता थियो, अहिले काम पाउँदा खुशी छौँ ।” कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकारको चालु वर्षको सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्याइएको बजेटको ठूलो अंश स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिएको छ । आगामी दिनमा आउन सक्ने तेस्रो लहरको कारोना भाइरसबाट बालबालिकामा बढी जोखिम हुने अनुमान गरिएको अवस्थामा बालबालिकालाई लक्ष्य गरी सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र महाकाली अस्पतालमा ३०० शय्या र थप ५० भेन्टिलेटरको व्यवस्थापन गर्न लागिएको छ । पहाडी जिल्ला अस्पतालमा १० देखि २० शय्याको व्यवस्थापनलगायतका कामसमेत गर्न लागिएको छ ।

Featured News

Advertisement