मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

विवादले परम्परा बिथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा



शनिबार २३ , श्रावण २०७८

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनोटमा विवाद भएपछि शुक्रबार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएपछि यस वर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्पन्न भएको छ । घण्टाकर्ण चतुदर्शीको साँझ देवगणसहित नकींको पदभार हस्तान्तरण हुने परम्पराअनुसार शुक्रबार नवदुर्गा द्योछेंमा जम्मा भएका देवगण र नवदुर्गा नाचका सरोकारवालाबीच नकीं छनोटमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो । झडपमा दुवै पक्षका केही सामान्य घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाद भएपछि प्रहरीले सुरक्षा दिएको हो, दुई पक्षबीच सामान्य झडप भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको हो ।” नवदुर्गा देवगणको परम्पराअनुसार घण्टाकर्ण चतुदर्शीका दिन देवगण र नकींको पालो फेर्ने प्रचलन छ । त्यसका लागि केही दिनअघि पालोअनुसार देवगण र नकीं छनोट गरिन्छ । यस वर्ष देवगण छनोटमा विवाद नभए पनि नकीं छनोटमा भने विवाद भएको थियो । नवदुर्गा देवगणको नकींमा भक्तपुर नगरपालिका–७ का हरिगोविन्द वनमाला र कृष्णराम वनमालाको परिवारले दाबी गर्नुभएको थियो । नकींमा दुई परिवारको दाबी परेपछि विभिन्न चरणमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालयले हरिगोविन्दको परिवारलाई नकींको जिम्मेवारी तोकेको थियो । कृष्णरामको परिवारले परम्पराअनुसार आफ्नो परिवारको पालो भएको दाबी गर्दै पालो मिचिएको भन्दै असन्तुष्टि जनाएको थियो । उहाँले पाटन उच्च अदालतमा आफूलाई अन्याय गरेको र पालो मिचिएको भन्दै रिटसमेत दर्ता गर्नुभएको छ, जुन विचाराधीन छ । नकीं छनोटमा विवाद उत्पन्न भएपछि नवदुर्गा द्योछें परिसरमा दर्जनौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीकै सामुन्ने दुई पक्षबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गरी झडप साम्य पारेको थियो । नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सदस्य बालकृष्ण वनमालाले घण्टाकर्णको अन्तिम दिन नकीं छनोट भई पद हस्तान्तरण गर्ने बेलासम्म पनि छनोट हुन नसकेपछि विवाद र झडप भएको बताउनुभयो । उहाँले विवादले नवदुर्गा देवगणको परम्परा नै बिथोलिएको जानकारी दिनुभयो । नवदुर्गा देवगणको परम्पराअनुसार घण्टाकर्ण चतुदर्शीको बेलुकी महादेव सिद्ध गर्ने, देवगणको मखुण्डो बनाउन निम्ता दिन जानुका साथै माटाको पूजा गर्नुपर्ने प्रचलन रहेको छ । त्यसैगरी तालक्वस्थित कुमाले टोलमा पुगेर देवगणले नवदुर्गा गणको जात्रा सञ्चालनका लागि आवश्यक भाँडाकुँडा बनाउन आग्रह गर्न जानुपर्ने परम्परा छ । झडपले ती सबै परम्परा बिथोलिएको बालकृष्णले बताउनुभयो । घण्टाकर्ण चतुदर्शीको रातिदेखि नै देवगणको नाचको प्रशिक्षण शुरु हुने परम्परा रहेकोमा झडप र विवादले यस वर्ष सो परम्परा पनि बिथोलिएको छ । तत्काल विवाद समाधान नभए यस वर्ष नवदुर्गा देवगणको जात्रा नै सञ्चालन नहुने जोखिम बढेको उहाँले बताउनुभयो । “दुई तीन दिनभित्र विवाद समाधान नभए यस वर्ष नवदुर्गा गण जात्राका कुनै पनि परम्परा सञ्चालन हुन सक्दैन”, उहाँले भन्नुभयो । उहाँले समितिका अध्यक्ष र देवगणका नाइकेसमेत रहेका ब्रिजेश वनमालाको दम्भ र पक्षपातपूर्ण व्यवहारले झडपको स्थिति आएको आरोपसमेत लगाउनुभयो । स्रोतका अनुसार नवदुर्गा देवगणको नकींमा शेरबहादुर वनमाला र जयमल वनमालाको परिवारले १२÷१२ वर्षमा पालो फेर्दै आएका थिए । विसं २०५४ मा नकीं छनोटमा हरिगोविन्द वनमालाको परिवारले पनि दाबी गरेको थियो । विसं २०२६ को पालो र नवदुर्गा देवगणको नामकरणको वंशावली तथा मूल लिखतको अध्ययनले हरिगोविन्दको पनि नकींमा दाबी पुगेको देखिएपछि २०५४ सालमा जिल्ला प्रशासन कार्यालयमा शेरबहादुर, जयमल र हरिगोविन्दबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

Featured News

Advertisement