बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रधानमन्त्री देउवालाई प्रजातान्त्रिक समाजको ध्यानाकर्षण



शनिबार १६ , श्रावण २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रजातान्त्रिक विचार समाजले आज भेट गरी विभिन्न समसामयिक जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष डा। केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याललगायतको टोलीले जनतालाई कोरोनाको निःशुल्क उपचार तथा रोकथाम, खोपमा सबै जनतालाई सहज पहुँच, बाढी, पहिरो वा प्राकृतिक प्रकोपको रोकथाम, उद्धार र राहतलगायत विषयमा प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्री देउवालाई समाजले ध्यानाकर्षण पत्रमार्फत मुलुकको जटिल राजनीति र कठिन अर्थतन्त्रकोे अहिलेको स्थितिले उहाँको नेतृत्वमा निकास र समाधान पाउने विश्वास लिएको जनाएको छ । लोकतान्त्रिक मूल्य, मान्यता र विधिलाई कुल्चिएर यसअघिको सरकारले गरेका स्वेच्छाचारी निर्णय सच्याएर लोकतन्त्र, विधिको शासन र सुशासन, पारदर्शीता स्थापित गर्न प्रधानमन्त्री देउवा नेतृत्वको संयुक्त सरकार सफल हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ । मुलुकका विभिन्न समस्या र चुनौतीको समाधान गरी वर्तमान सरकारले संसदीय आवधिक निर्वाचन सुनिश्चित गर्ने विश्वास प्रजातान्त्रिक विचार समाजको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशन सम्पन्न गर्ने सभापतीय दायित्व पनि सभापति देउवासामु रहेको र सरकार निर्माणमा सम्मिलित दलहरुसमेत सबैलाई समेटेर राजनीतिलाई सहिष्णु र थप समावेशी बनाई सबै पक्षसँग हुने सहमति, सहयोग र सहकार्यले देशलाई नयाँ गति र भरोसा दिने समाजले जनाएको छ ।

Featured News

Advertisement