बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

बुबाआमासित सामान्य भनाभन १५ वर्षीया किशोरी सम्पर्कविहीन



बुधबार १३ , श्रावण २०७८

बुबाआमासित सामान्य भनाभन परेपछि १५ वर्षीया किशोरी सर्लाहीस्थित घरबाट निस्केर सम्पर्कविहीन भइन् । छरछिमेक, आफन्त, साथीभाइकहाँ सोधखोज गर्दा नभेटेपछि अभिभावकले माइती नेपाल र प्रहरीमा खबर गरे । एक महिनापछि उनी भारतको पुनेमा फेला परिन् ।

चितवनकी २१ वर्षीया बिना सापकोटा गत असार १४ देखि हराइरहेकी छन् । लन्डनमा अध्ययनरत उनी बिदामा घर आएकी थिइन् । केही दिनपछि फर्कने तयारी हुँदै थियो । अपराह्न साढे ४ बजे घरबाट बजार निस्केकी उनी फर्किइनन् । ‘कसले कहाँ देख्यौं भन्छन्, कसले कहाँ । सबैतिर चहारिसक्यौं, खोज्दाखोज्दै पुलिस, प्रशासनसँग ठोक्किन्छौं । छोरी कहीं फेला परेकी छैन,’ उनका बुबा जयश्वरले भने ।

प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन् । तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ प्रहरीको हराइरहेको सूचीमै छन् । आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/७८ को जेठ मसान्तसम्म देशभरका २७ हजार ४ सय ३३ जना महिला, किशोरी तथा बालिका हराए । तीमध्ये १० हजार ९ सय ६२ मात्रै फेला परेका छन् । हराएकाको संख्या बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ५ हजार ९ सय ८१ जना हराएकामा गएको वर्ष ११ महिनामा ७ हजार ५ सय ६१ हराए ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार बेचबिखन जस्ता आपराधिक गतिविधिमा संलग्न भएर, बेचबिखनमा परेर, पारिवारिक बेमेल, प्रेमसम्बन्ध, सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले महिला, किशोरी, बालिका हराउने क्रम बढिरहेको छ । हराएका केही भने मृत भेटिन्छन् । धादिङकी २२ वर्षीया युवती यसैको उदाहरण हुन् । गत साउन १ देखि सम्पर्कविहीन भएकी गजुरी–८ की सम्झना रोकाको शव १० दिनपछि घरनजिकैको जंगलमा भेटिएको थियो । असार ११ गते बिहानै घरबाट निस्केकी चितवनकी २३ वर्षीया सुजिता भण्डारी ९ दिनपछि जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।   source sancharpati

Featured News

Advertisement