बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेशसभाको बैठक अनिश्चित



मंगलवार १२ , श्रावण २०७८

कुनै पनि 'विजनेस' नभएकोले सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्तर्गतको नियमित बैठक असार २७ गतेयता बस्न सकेको छैन । गएको वैशाख २१ गते प्रदेशसभाको बजेट अधिवेशन शुरु भएको थियो । असार २७ गते बसेको प्रदेशसभाको बैठकपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको थियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्थाका रूपमा स्थापित प्रदेशसभाको बैठक बस्न भएको ढिलाइसँगै प्रदेशका जनताको समसामयिक समस्या समाधानबारे छलफल हुन पाएको छैन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले असार २७ गतेयता नयाँ कुनै पनि विधेयक दर्ता नभएको र समितिमा दफावार छलफलका लागि गएका विधेयकको छलफल नसकिएकाले बैठक बस्न ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मिनी संसद् मानिने समितिको विजनेश चलिरहेरहेको छ, फुल संसद्को विजनेश छैन ।” सत्तापक्षीय प्रदेशसभा सदस्य लीलाधर भट्ट पनि सरकारले विजनेश दिन नसकेको कारण प्रदेशसभाको बैठक बस्न ढिलाइ भएको स्वीकार्नुहुन्छ । “विजनेश नभएर बैठक बस्न नसकेको हो”, उहाँले भन्नुभयो । सरकारले सदनमा टेबुल गरेको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि प्रदेशसभाका सम्बन्धित समितिमा हाल दफावार छलफल भइरहेको जनाइएको छ । प्रदेशसभाको सम्बन्धित समितिमा दफावार छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकबाहेक हाल अन्य कुनै विधेयक सचिवालयमा दर्ता भएको छैन । सुदूरपश्चिम प्रदेशसभाले काम गरेको गत साढे तीन वर्षमा सभाले पारित गरेका ५१ विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ ।

Featured News

Advertisement