बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

सांसदले उठाए बाढीपहिराका विषय



मंगलवार १२ , श्रावण २०७८

प्रतिनिधिसभामा सांसदहरूले बाढी, पहिरोबाट भएको क्षति, कोभिड सङ्क्रमण जोखिम नियन्त्रण र बलात्कारका घटनाको सत्यतथ्य सार्वजनिकलगायत विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै सांसदले मुलुकका जल्दाबल्दा र मूलभूत विषयमा सरकारले कार्ययोजना नै बनाएर नागरिकलाई परेको पीडालाई सम्बोधन गर्न सुझाव दिनुभयो । नेकपा (एमाले)का लालबाबु पण्डितले कोरोनाको तेस्रो लहरको जोखिमबाट नागरिकलाई बचाउन र सुकुम्बासीका समस्या समाधानका लागि गठन भएको भूमिसम्बन्धी आयोगलाई निरन्तरता दिन माग गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार गठन हुनासाथ भूमिसम्बन्धी आयोग विघटन गरिएको छ, जुन कार्य ठीक होइन । यो मन्त्रिमण्डल देश र जनताको हितमा काम गर्छ कि गर्दैन भनेर जनताले चासोका साथ हेरिरहेका छन् ।” नेपाली कांग्रेसकी पुष्पा भुसालले जनस्वास्थ्य विज्ञले कोरोनाको तेस्रो लहर आउन सक्ने पूर्वानुमान गरेकाले त्यसको तयारीका लागि आवश्यक व्यवस्थापन समयमै गर्न सुझाव दिनुभयो । कोभिसिल्ड पहिलो खोप लगाएकाले अर्काे खोप लगाउन नपाएको विगतको घटना सुनाउँदै उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक र बालबालिकाको जीवन रक्षाका लागि खोपको व्यवस्थापन र विदेश जाने युवालाई तत्काल जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यवस्था होस् ।” सांसद हरिराज अधिकारीले कोरोनाविरुद्धको खोपमा पहुँचको कुरा सुनिएको हुँदा त्यसलाई हटाएर सबैलाई खोपको सुनिश्चितता गर्न सुझाव दिँदै गोरखाका बाढी, पहिरो प्रभावित पालिकालाई विशेष प्रभावित क्षेत्र घोषणा गर्न माग गर्नुभयो । जनता समाजवादी पार्टीका डा सुरेन्द्र यादवले महोत्तरीका कतिपय नदीमा उत्खननका काम तीव्र भइरहेकाले त्यसको नियन्त्रणको आवश्यकता औँल्याउनुभयो । नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्राध्यक्षमाथि समेत प्रयोग भएका शब्दले समाजमा भइरहेको महिला हिंसा बढिरहेको देखाएको भन्दै आमनागरिकमा सकारात्मक सोच र असल व्यवहारको संस्कार स्थापित गर्न जरुरी रहेको बताउनुभयो । नेपाली कांग्रेसका देवप्रकाश तिमल्सिनाले बाढी, पहिरो र डुबानको क्षति यकिन गरेर मात्र नहुने भएकाले पुनर्वास कार्ययोजना आवश्यक रहेको बताउनुभयो । सांसद केदारप्रसाद सिग्देलले नेपालमा पहिलोपटक कोरोना सङ्क्रमण देखिँदा कुनै तयारी नभए पनि अहिलेसम्म परीक्षण र स्वास्थ्य उपचारको अनुभवले धेरै पाठ सिकाएको हुँदा आत्तिहाल्नुपर्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसअघिका सरकारले यो गर्नुपर्छ भनेर जसरी तपाईले प्रतिपक्षमा रहेर सुझाव दिनुभएको थियो, अहिले त्यो कुरा आफैँले गरेर देखाउनुपर्छ ।” कांग्रेसकी डा डिला सङ्ग्रौलाले सरकारले कोरोना नियन्त्रण, अपराध नियन्त्रण र प्राकृतिक प्रकोपका प्रभावितलाई राहतका कार्यक्रम अघि बढाउन सुझाव दिनुभयो ।

Featured News

Advertisement